विपद् सामना गर्न नेपाल प्रहरीलाई सक्षम बनाउने सरकारको प्रतिबद्धता
काठमाडौँ,असोज ३० । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रहरीलाई आगामी दिनमा हुन सक्ने सम्भावित विपद् सामना गर्न अझ सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।
एकहत्तरौँ प्रहरी दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले जनताको सेवामा अग्रभागमा खटिने प्रहरीलाई सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो।
उहाँले प्रहरी कर्मचारी, आश्रित परिवार तथा सर्वसाधारणलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने योजना रहेको जानकारी दिनुभयो।
प्रधानमन्त्री शाहले हालैको भोटेकोशी–त्रिशूली विपद्सहित विभिन्न कालखण्डमा कर्तव्य पालनाका क्रममा अमरत्व प्राप्त गरेका प्रहरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइते तथा अशक्त प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो।
‘विपद्मा सारथी, सङ्कटमा छहारी, प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने नाराका साथ ७१औँ प्रहरी दिवस मनाइरहेको उल्लेख गर्दै उहाँले कार्यक्रममा विमोचन हुने ‘पुलिस मिरर–२०८३’ ले नेपाल प्रहरीको इतिहास र वर्तमानलाई भावी पुस्तासँग जोड्ने विश्वास व्यक्त गर्नुभयो।
प्रधानमन्त्री शाहले पछिल्लो समय बढ्दै गएका वित्तीय तथा साइबर अपराधको रोकथाम र नियन्त्रणमा सरकार गम्भीर रहेको बताउनुभयो। नेपाल प्रहरीको सहकार्यमा राष्ट्र बैङ्क, इन्टरनेट तथा दूरसञ्चार सेवा प्रदायक र डिजिटल भुक्तानी सेवाप्रदायकलाई एकै ठाउँमा ल्याएर नागरिकका गुनासा प्रभावकारी रूपमा सम्बोधन गर्ने व्यवस्था भइरहेको उहाँको भनाइ छ।
त्यसैगरी कृत्रिम बुद्धिमत्ता, हवाई सुरक्षा तथा सहयोग एकाइ र एकीकृत ठगी नियन्त्रण केन्द्र स्थापना गर्ने तयारी भइरहेको पनि प्रधानमन्त्रीले जानकारी दिनुभयो।
उहाँले नेपाल प्रहरीलाई विपद् व्यवस्थापन, प्रविधि विस्तार तथा पूर्वाधार निर्माणमा सहयोग गर्ने मित्रराष्ट्र र अन्तर्राष्ट्रिय विकास साझेदारप्रति धन्यवाद व्यक्त गर्नुभयो।
नेपालको आन्तरिक शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्न प्रहरी निरन्तर खटिरहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले सङ्कटका बेला धैर्यता, सही निर्णय र कुशल कार्यसम्पादनले चुनौती सामना गर्न सहयोग पुग्ने बताउनुभयो।
कार्यक्रममा प्रधानमन्त्री शाहले पठाउनुभएको शुभकामना सन्देश प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले वाचन गरेर सुनाउनुभएको थियो।

