प्रहरीलाई नागरिकको अपेक्षाअनुसार रूपान्तरण हुन गृहमन्त्री गुरुङको आग्रह
काठमाडौँ,असोज ३० । गृहमन्त्री सुदन गुरुङले आम नागरिकले राज्यसँग राखेको अपेक्षा पूरा गर्न सरकारको भावनाअनुसार नेपाल प्रहरीलाई रूपान्तरण हुन आग्रह गर्नुभएको छ।
७१औँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली कार्यक्रममा बोल्दै उहाँले अपराध अनुसन्धानलाई नागरिकमैत्री बनाउन र अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन आग्रह गर्नुभयो।
गृहमन्त्री गुरुङले सही काम गर्ने प्रहरी कर्मचारीलाई सरकारको सदैव साथ रहने बताउँदै गलत कामको भने कुनै पनि हालतमा संरक्षण नगरिने स्पष्ट पार्नुभयो।
कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी सेवालाई प्रविधिमैत्री बनाउँदै लगिएको जानकारी दिनुभयो। उहाँले प्रधानमन्त्री बालेन्द्र शाहको शुभकामना सन्देशसमेत वाचन गर्नुभएको थियो।
यस वर्ष प्रहरी सेवामा कार्यरत कर्मचारीलाई प्रदान गरिने पुलिस ब्याटन सम्मान लुम्बिनी प्रदेश प्रहरी प्रमुखका रूपमा कार्यरत प्रहरी नायब महानिरीक्षक (डीआईजी) भूपेन्द्र खड्कालाई प्रदान गरिएको छ।

