कांग्रेसको १५औँ महाधिवेशनको मतगणना सकियो, एक सातामै सबै परिणाम सार्वजनिक गर्ने तयारी
काठमाडौँ,असोज ३० । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको सम्पूर्ण मतगणना शुक्रबार बिहान सकिएको छ। मधेस र बागमती प्रदेशको अन्तिम मतपरिणाम आएसँगै असोज २३ गते रातिदेखि सुरु भएको मतगणना सम्पन्न भएको हो।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार लुम्बिनी, गण्डकी, उपत्यका, श्रमिक, शहीद परिवार तथा द्वन्द्वपीडिततर्फका केन्द्रीय सदस्यको मतगणना राति नै सकिएको थियो। सहमहामन्त्री तथा खुला र महिला केन्द्रीय सदस्य चयन हुने खस आर्य र थारूतर्फको मतगणना पनि राति अबेर सम्पन्न भएको उहाँले जानकारी दिनुभयो।
सबै पदको मतपरिणाम रुजु गर्ने काम भइरहेको र केही बेरमै नतिजा सार्वजनिक गर्ने तयारी गरिएको निर्वाचन समितिले जनाएको छ।
असोज २३ गते मतदानपछि सोही राति सभापतिको मतगणना सुरु गरिएको थियो। राष्ट्रिय सभागृहमा गरिएको सभापतिको मतगणनाको परिणाम असोज २४ गते बिहान सार्वजनिक भएको थियो। अन्य पदको मतगणना भने असोज २४ गते रातिदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा गरिएको थियो।
निर्वाचन समितिका सदस्य सचिव कटुवालका अनुसार १४औँ महाधिवेशनमा चार हजार सात सय मतदाताको मतगणना गर्न १२ दिन लागेको थियो। यसपटक सात हजार ३९२ मतदाताको मतगणना एक सातामै सम्पन्न भएको हो।
मतगणना सुरु भएकै दिनदेखि दिन र रातमा गरी करिब २५ समूह बनाएर गणना गरिएको थियो। यसपटक झण्डै एक लाख ६२ हजार मतपत्र गणना गर्नुपरेको थियो। कुल २२९ पदका लागि निर्वाचन भएकोमा ७७ प्रकारका पद रहेका थिए भने प्रत्येक मतदाताले २३ वटा मतपत्रमार्फत मतदान गर्नुपर्ने व्यवस्था थियो।
मतदान तथा मतगणनाका क्रममा कुनै विवाद नभएको र निर्वाचन सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको कटुवालले बताउनुभयो। अघिल्लो महाधिवेशनको तुलनामा यसपटक दोब्बरभन्दा बढी छिटो मतगणना सम्पन्न भएको उहाँको दाबी छ।
नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण र शपथग्रहण कार्यक्रम दसैँलगत्तै गर्ने तयारी रहेको निर्वाचन समितिले जनाएको छ।

