बाँकेका पर्यटकीय गन्तव्यमा छैन चहलपहल



नेपालगञ्ज (बाँके),मंसिर १२ । मुलुकका अन्य पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढे पनि नेपालगञ्जका पर्यटकीय गन्तव्य भने सुनसान जस्तै छ । पर्यटकीय सम्भावना भएका गन्तव्यमा लगानी नहुँदा चहलपहल बढ्न नसकेको पर्यटन व्यवसायीको भनाइ छ ।

पर्यटन प्रवर्द्धनमञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले अहिलेको अवस्थामा पर्यटन क्षेत्रमा प्रभावकारी काम गर्न नसकिएको उल्लेख गर्दै व्यवसायी धरासायी हुने अवस्थामा पुगेकोमा गुनासो गर्नुभयो । “बाँकेमा पर्यटनको प्रचुर सम्भावना छ तर यसमा लगानी गरेर संरक्षण र सम्वद्र्धन गर्ने काम गर्न सकिएको छैन”, उनले भने ।

 नेपालगञ्जका तारे होटेल क्यासिनोको भरमा मात्रै चलेको भन्दै अधिकांश होटेल पाहुनाको पर्खाइमा रहेको उनको भनाइ छ । अध्यक्ष श्रेष्ठले व्यवसायीले पर्यटन क्षेत्रमा सङ्गठित भएर काम गर्न नसकेको उल्लेख गर्दै पर्यटन क्षेत्रमा थप लगानी गर्ने वातावरण नभएको बताए ।

श्रेष्ठले बाँके धार्मिक पर्यटनका रुपमा बढी परिचित भएको बताउँदै बाँके राष्ट्रिय निकुञ्जमार्फत पर्यटनका कार्यक्रम ल्याउन सुझाव दिए । निकुञ्जलाई हात्ती सफारी, चार सिङ्गे मृग, बाघलगायतका अन्य जन्तुको समेत बासस्थान भएको क्षेत्रका रुपमा प्रचार गर्नसके यसले पर्यटकीय आकर्षण बढ्नसक्ने उनको भनाइ छ ।

 नेपालगञ्जलाई खानाका विभिन्न स्वाद पाउने महत्वपूर्ण स्थलका रुपमासमेत विकास गर्न सकिने सम्भावना छ । नेपालगञ्जमा बिरयानी, घमन्जा, हलुवा, पराठा, चाट, समोसालगायतका खानाका परिकारलाई ब्राण्डिङ गरेर पर्यटकीय आकर्षण बढाउन सकिने श्रेष्ठको भनाइ छ ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) च्याप्टर बाँकेका अध्यक्ष श्रीराम सिग्देलले पर्यटनको अध्ययन, अनुसन्धान र खोजी नभएको र त्यसका लागि बृहत् परियोजना निर्माणमा जोड दिए । उहाँले पर्यटनको दिगो विकासका लागि अल्पकालीन र दीर्घकालीन नीति आवश्यक रहेको उल्लेख गर्दै पर्यटकीय गन्तव्यको पहिचान हुन नसकेको बताए ।

जिल्लाका राप्तीसोनारी, वैजनाथ र नरैनापुरलाई पर्यटनको उर्वर क्षेत्रका रुपमा मानिन्छ । अध्यक्ष सिग्देलले यस क्षेत्रमा ग्रामीण पर्यटनको सम्भावना भए पनि त्यस्तो सोचको विकास हुन नसकेको बताए । केही घरबास र पार्कले झिनो मात्रामा ग्रामीण पर्यटनलाई बढवा दिए पनि अहिले चहलपहल नभएको बताइएको छ ।

राप्ती नदीमा र्‍याफ्टिङ सञ्चालन, नरैनापुरको सन्तानेश्वर मन्दिरलाई धार्मिक पर्यटनका रुपमा विकास र वैजनाथमा रहेको ‘बोटानिकल पार्क’लाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने सरोकारवालाको भनाइ छ । साथै महेन्द्र पार्क, रानी तलाउ, वाटर पार्क, कान्ति ताल, बागेश्वरी मन्दिर, गुम्बा, मस्जिद, गुरुद्वारलगायतका क्षेत्र धार्मिक पर्यटनका हिसाबले प्रख्यात छन् । यसक्षेत्रमा आठ क्यासिनो, दुई पाँचतारे र १२ चारतारे होटेल छन् ।

प्रतिक्रिया दिनुहोस्