चिसोले भुकम्प पिडितको मृत्यु हुन थालेपछि अस्थायी आवास निर्माणमा सुरक्षा अङ्ग परिचालन हुने



काठमाडौँ,मंसिर १४ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट भूकम्पबाट प्रभावित नागरिकको जीवनयापनलाई सहज बनाउन सरकारले अस्थायी आवास निर्माणमा सुरक्षा अङ्गलाई परिचालित गर्ने निर्णय गरेको बताउनुभएको छ ।

राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आज बिहीवारको बैठकमा उनले त्रिपालमुनि बसिरहेका भूकम्प पीडितलाई छानामुनि ल्याउन सरकार केन्द्रित रहेको बताएका हुन् । पछिल्लो समय चिसोको कारण भुकम्प पिडितको मृत्यु भइरहेको घटना सार्वजनिक भए पछि उनले यस्तो बताएका हुन् ।

चिसोका समयमा त्रिपालमुनि बसेका भूकम्प पीडित थप समस्यामा नपरुन् भनेर नै सरकारले नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई अस्थायी आवास निर्माणमा खटाउने निर्णय गरेको उनको भनाइ रहेकोथियो ।

सम्बन्धित जिल्लामा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले सुरक्षा अङ्गलाई आवश्यकतानुसार परिचालित गर्न सक्ने व्यवस्था मिलाइएको जानकारी दिँदै उपप्रधानमन्त्री श्रेष्ठले थप जनशक्ति आवश्यक परेको खण्डमा उपलब्ध गराउन सरकार तयार रहेको बताए ।

भूकम्पबाट जाजरकोटमा एक सय एक र रुकुम पश्चिममा ५३ गरी एक सय ५४ जनाको ज्यान गएको र तीन सय ६६ जना घाइते भएका छन् । तथ्याङ्कअनुसार २६ हजार पाँच सय ५७ घर पूर्ण क्षति, ३५ हजार चार सय ५५ घर आंक्षिक क्षति भएका छन् ।

प्रतिक्रिया दिनुहोस्