नेपालीलाई इन्डोनेसिया प्रवेशमा कडाई, भ्रमणका लागि पनि अब स्टिकर भिषा अनिवार्य



काठमाडौं,मंसिर १४ । इन्डोनेसियाले आफ्नो देश भ्रमण गर्ने नेपालीहरुलाई भिषामा कडाई गरेको छ । हालैमात्र इन्डोनेसियाको दूताबासले उसको देश भ्रमण गर्ने नेपालीले स्टिकर भिषा लिनुपर्ने अनिवार्य शर्त अघि सारेको छ ।

यसअघि अल्पकालिन भ्रमणका लागि इलेक्ट्रोनकि भिषा स्वीकार गरिरहेको इन्डोनेसियाले अहिले स्टिकर भिषा नै चाहिने भनेको हो । इ–भिषा अनलाइनबाट आवेदन दिएर तुरुन्तै प्राप्त गर्न सकिन्छ । अलग्गै पानामा प्रिन्ट हुने भएकाले यसले भ्रमण गर्ने व्यक्तिको राहदानीमा कुनै स्टिकर टाँसिएको हुँदैन । अध्यागमनबाट छिरेपछिमात्रै सम्बन्धित अध्यागमनको छापका आधारमा भ्रमणको जानकारी प्राप्त हुन्छ ।

तर स्टिकर भिषा लिन सम्बन्धित देशको दूताबासमा राहदानी बुझाएर हप्तौंसम्मको लामो प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ ।

यस निर्णयबाट इन्डोनेसियाले नेपाली पर्यटकलाई नियन्त्रित गर्न खोजेको देखिन्छ । किनकी, छिमेकी भारत र बंगलादेश सहित थुप्रै देशका नागरिकलाई उसले अहिले पनि ई–भिषा उपलब्ध गराइरहेको छ । तर नेपालीहरुका लागि भने अब उपरान्त नेपालबाट इन्डोनेसिया प्रस्थान गर्दा ई–भिषाको लागि आवेदन नगर्न इन्डोनेसियाको दूताबासले आग्रह गरेको छ ।

नेपाल हेर्ने इन्डोलेशियाको ढाकास्थित दूताबासले नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य गरेको हो । यसका लागि ‘इन्डोनेसिया तथा नेपालका विभिन्न एजेन्सी मार्फत ई–भिषा प्रोसेस गर्दा चुनौती देखिएको’ भनेर कारण देखाएको छ ।

दुतावासले एक सर्कुलर जारी गर्दै भिषा सम्बन्धि सम्पूर्ण कार्य काठमाडौँस्थित इन्डोनेशियाको अवैतनिक वाणिज्यदूतको कार्यालय मार्फत गर्न सुझाव दिएको छ । नेपालमा उसको कार्यालय नभएका कारण अवैतनिक वाणिज्य दूतमार्फत् भिषाको काम गर्न लागेको हो । नेपालमा इन्डोनेसियाको अवैतनिक वाणिज्य दूत चन्द्रप्रसाद ढकाल हुन्, उनी नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष छन् ।नयाँ व्यवस्थाले भिषा शुल्कबापत हुने लाभका कारण अवैतनिक दूत ढकाललाई भने फाइदा पुग्ने भएको छ । ढाका स्थिति दूताबासले ई–भिषा आवेदन प्रक्रियामा त्रुटिहरू भएको र आफूले त्यसको मूल्यांकन गरिरहेको भनेको छ ।

तर नेपालका लागि इन्डोनेशियाका अवैतनिक वाणिज्य दूत चन्द्रप्रसाद ढकालले चाहीँ नेपालबाट इन्डोनेसिया जाँदा ‘भिषा अन एराईभल’का लागि पहल गरिरहेको उनको सचिवालयले जानकारी दिएको छ । यो सुविधा पाउने हो भने इन्डानेसियाको कुनै पनि स्थानमा नेपालीहरु सिधै पुग्न सक्छन् र त्यहाँको अध्यागमन कार्यालयमा तुरुन्तै भिषा लगाएर संसारको सबैभन्दा ठूलो मुस्लिम देशको भ्रमण गर्न सक्छन् ।

नेपाली राहदानी धारीहरुले संसारमा अत्यन्तै कम देशमा मात्रै यस प्रकारको ‘अन एराईभल’ सुविधा प्राप्त गरिरहेका छन् । यसलाई कुनै पनि राहदानीको शक्ति मापन गर्ने आधारका रुपमा पनि लिइन्छ । ढकालले माग गरे पनि भिषामै कडाई गरिरहेको इन्डोनेसियाले नेपालीलाई यस प्रकारको सुविधा दिइहाल्ने संभावना ज्यादै कम भएको ट्राभल व्यवसायीहरु बताउँछन् ।

फेरि पनि औपचारिक बक्तव्यमा चाहीँ ‘नेपाली नागरिकहरूको सहजताका लागि’ नै दुतावास तथा इन्डोनेसियाली सरकारले विद्यमान प्रक्रियालाई थप सहजीकरण गर्न ‘नयाँ व्यवस्था लागू गरेको’ भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्