मोटरसाइकल दुर्घटनामा आमा छोरीको मृत्यु



मकवानपुर,मंसिर १४ । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो मकवानपुर गढी गाउँपालिका २ धवाडीपुलस्थित भित्री सडक खण्डमा सुकौराबाट कान्ति लोकपथतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नं.को मोटरसाइकल दुर्घटनामा आमाछोरीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकल पछाडि सवार करिब ३४ वर्षीया रुपा स्याङ्तान र  निजको छोरी अन्दाजी चार–पाँच महिनाको बालिका  छन् ।उनीहरु दुवै जनाको घटनास्थलमा मृत्यु भएको हो ।

रुपाका पति मकवानपुरगढी गाउँपालिका २ कुर्लेपाखाका वर्ष ३५ का भीमबहादुर स्याङ्तानले चलाएको मोटरसाइकल आफैँ अनियन्त्रित भई पुल छेउबाट करिब १०/१२ मिटर तल खसेर दुर्घटना भएको थियो ।

भीमबहादुरको टाउकोमा चोट लागेर अवस्था गम्भीर रहेको र हेटौँडा अस्पतालमा उपचारपछि थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्