नुवाकोटको प्रसिद्ध पञ्‍चकन्या मन्दिरमा लाग्ने दुई दिने मेला भोलिदेखि



नुवाकोट, मंसिर १४ । काठमाडौंको उत्तरी क्षेत्रमा पर्ने नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नं ३ को प्रसिद्ध पञ्‍चकन्या मन्दिरमा भोलि शुक्रबारदेखि दुई दिने मेला सुरु हुँदै छ ।

घलेभन्ज्याङभन्दा २ सय मिटर पूर्वोत्तरमा अवस्थित ऐतिहासिक एवं धार्मिक स्थल पञ्चकन्या मन्दिरमा हरेक वर्ष मार्ग कृष्णपक्ष चतुर्थी र पञ्चमीका दिन मेला लाग्ने गर्दछ । विगतका वर्षमा दुई दिनसम्म व्यापक रुपमा जात्रा चल्ने गरे पनि बीचका केहि वर्ष कोरोना महामारीका कारण सामान्य रुपमा पूजाआजामा सिमित हुँदै आएको थियोे। पछिल्लो केहि वर्ष भने कोरोना महामारी संक्रमण हटे पश्चात् मेला धुमधामका साथ मनाउदै आएको मन्दिर संरक्षण समितिले जनाएको छ।

यस वर्ष झाँकी व्यवस्थापन, कलाकार सम्पर्क समिति, सांस्कृतिक कार्यक्रमका लागि मञ्च व्यवस्थापन, प्रचारप्रसार समितिलगायत विभिन्न तयारी समेत मन्दिर संरक्षण समितिले गरेको छ। गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले धर्म परम्परालाई निरन्तरता स्वरुप मेला लाग्ने बताए । मेलामा यस वर्ष पनि चर्चित हास्य कलाकारको प्रस्तुतिदेखि लाइभ दोहोरी जस्ता प्रस्तुति रहनेछन । कार्यक्रममा पञ्चकन्या गाउँपालिकाका सम्पुर्ण कलाकारहरुलाई समेत निमन्त्रणा गरिएको छ ।

मन्दिरका मूल पूजारी लालबहादुर तामाङका अनुसार गाउँका धामी झाँक्री नाच, मादी (बत्ती) बाल्ने, पूजाआजा लगायत नियमित कार्यक्रम मन्दिरमा बढ्ने अपेक्षा गरिएको छ।मेलाका लागि मन्दिर परिसर क्षेत्रमा सरसफाई समेत गरिएको छ भने स्थानीयले पसल राख्न ब्यवस्थापन थालिसकिएको छ । यस वर्ष शुक्रबार र शनिबार चल्ने मेलामा स्थानीय, पञ्चकन्या गाउँपालिकाका र अन्य शिवपुरी, दुप्चेश्वर, लिखुसहित काठमाडौंबाट समेत दर्शनार्थी भीड बढ्न सक्ने अनुमान गरिएको छ । सोही मन्दिरको नामबाट गाउँपालिकाको नामसमेत राखिएकाले आसपास क्षेत्रका स्थानीयले विशेष देवताको रुपमा पुज्ने गर्दछ्न।

पञ्‍चकन्या मन्दिर परिसरमा रहेको सप्तकन्या थानमा स्थानीयले बलि दिने चलन छ । रोग हरण हुने र मनले चिताएको पुग्ने विश्वासले भाकल गर्ने, गाउँको देउतालाई बुझाउन भनेर नियमित पूजाको रुपमा बोका, कुखुरा, राँगा, लगायतको बलि चढाउने चलन पनि रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्