भूकम्प पीडितको आवास बनाउँदै स्वयम्सेवक



रुकुमपश्चिम,मंसिर १५ । चिसो बढेको र त्रिपालमुनि बसेका भूकम्पपीडितलाई साथ दिन विभिन्न राजनीतिक दलनिकट नेता, कार्यकर्ता प्रभावित क्षेत्रका गाउँमा केन्द्रित भएका छन् । स्वयम्सेवक बनेर गाउँ पुगेका उनीहरू यतिबेला भूकम्पले भत्काएका र चर्किएका घरको व्यवस्थापन गर्नेदेखि अस्थायी आवास निर्माणका काममा सक्रिय छन् । भूकम्पबाट प्रभावित रुकुमपश्चिमको आठबिसकोट, सानीभेरी र चौरजहारी क्षेत्रमा यतिबेला विभिन्न दलका सयौँ स्वयम्सेवक परिचालन भएका छन् । 

नेपाली कांग्रेसले तीन जना केन्द्रीय सदस्यको नेतृत्वमा तीन वटा स्थानीय तहमा पुनर्निर्माणको काम गरिरहेको छ । जिल्ला पार्टी सभापति प्रेमप्रकाश ओलीका अनुसार पाँच सय स्वयम्सेवक जिल्लाभर परिचालित छन् । कांग्रेसले सरकारी मापदण्ड अनुसारका एक सय अस्थायी आवास चाँडै बनाउने जनाएको छ । 

नेकपा एमाले पनि ‘पुनर्निर्माणका लागि श्रमदान’ भन्ने अभियान बोकेर प्रभावित गाउँमै केन्द्रित भएको छ । एमालेको गण्डकी, लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका दुई सय नेता कार्यकर्ता वडा अनुसार विभाजन भएर पुनर्निर्माणका काम गरिरहेका छन् । एमालेले विभिन्न १५ वटा समूह बनाएर भग्नावशेष भवनको व्यवस्थापन र अस्थायी आवास बनाउने कामलाई प्राथमिकता दिएको छ । सबैभन्दा बढी स्वयम्सेवक परिचालन गरेर उद्धार र अस्थायी आवास निर्माणका काममा नेकपा (माओवादी केन्द्र) खटिएको छ । तीन हजारभन्दा बढी स्वयम्सेवक लिएर पार्टीका उपमहासचिवसमेत रहनुभएका पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा गाउँमै केन्द्रित छन् । पुनर्निर्माणका लागि जिल्ला पार्टी कमिटीका सबै संयन्त्रलाई स्वयम्सेवक दलमा रूपान्तरण गरिएको थियो । वडाका सबै कार्यकर्ता परिचालनको नेतृत्व शर्माले गरिरहेका छन् ।

 पूर्वमन्त्री शर्माले चिसो बढिरहेकाले तत्काल अस्थायी आवास बनाउन लागि परेको बताए । यो महिनाभित्रै सबै प्रभावित परिवारलाई त्रिपालबाट अस्थायी आवासमा राखिसक्न उहाँले निर्देशनसमेत दिएका छन् । शर्मा भूकम्प गएदेखि खोज, उद्धार, उपचार, राहत व्यवस्थापन तथा वितरण र अस्थायी आवास निर्माणका काममा अग्रभागमा रहेर काम गरिरहेका छन् । 

नेकपा (एकीकृत समाजवादी) पनि पुनर्निर्माणमा भूकम्प प्रभावित स्थलमै खटिएको छ । पार्टीनिकट युवा सङ्घका केन्द्रीय सदस्य नरेश गिरीको नेतृत्वमा रहेको ३० जनाको टिमले आठबिसकोट नगरपालिका–१४ मा अस्थायी टहरा निर्माण गरिरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीनिकट युवा समूहले पनि अस्थायी आवास निर्माणका कामलाई निरन्तरता दिइरहेको छ । यो समूहले जिल्लामा सबैभन्दा पहिला अस्थायी आवास बनाउन थालेको जनाएको छ । 

नेकपाले पनि महासचिव नेत्रविक्रम चन्दको उपस्थितिमा सुरुवात गरेको अस्थायी आवास निर्माणलाई तीव्र पारेको छ । भूकम्प प्रभावित क्षेत्रमा विभिन्न राजनीतिक दलहरूसँगै स्थानीयसमेत संलग्न रहेर अस्थायी आवास निर्माणलाई तीव्रता दिएका छन् । सबै दलले हालसम्म जिल्लामा ५० भन्दा बढी अस्थायी आवास निर्माण गरेर पीडित परिवारलाई हस्तान्तरण गरिसकेका छन् । एक सयभन्दा बढी निर्माणको अन्तिम चरणमा रहेको बताइन्छ । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्