नुवाकोटको प्रसिद्ध पञ्‍चकन्या मन्दिरमा लाग्ने दुई दिने मेलाको रौनक



नुवाकोट, मंसिर १५। काठमाडौंको उत्तरी क्षेत्रमा पर्ने नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नं ३ को प्रसिद्ध पञ्‍चकन्या मन्दिरमा आज शुक्रबारदेखि दुई दिने मेला लागेको छ ।

घलेभन्ज्याङभन्दा २ सय मिटर पूर्वोत्तरमा अवस्थित ऐतिहासिक एवं धार्मिक स्थल पञ्चकन्या मन्दिरमा यस वर्ष पनि मेला भर्न सयौं श्रद्धालु भक्तजनको भीड लागेको छ ।

यस क्षेत्रकै शक्तिशाली देवीको रुपमा परिचित यस मन्दिरमा शनिबारसम्म पूजापाठ तथा मेला लाग्नेछ। यस वर्ष झाँकी व्यवस्थापन, कलाकार सम्पर्क समिति, सांस्कृतिक कार्यक्रमका लागि मञ्च व्यवस्थापन, प्रचारप्रसार समितिलगायत विभिन्न तयारी मन्दिर संरक्षण समितिले गरेको छ।

मन्दिरका मूल पूजारी लालबहादुर तामाङको नेतृत्वमा गाउँका धामी झाँक्री नाच, मादी (बत्ती) बाल्ने, पूजाआजा लगायत नियमित कार्यक्रम गर्न मन्दिरमा भीड देखिएको छ ।मन्दिर संरक्षण समितिले मेलाका लागि शुक्रबार पनि मन्दिर परिसर क्षेत्रमा सरसफाई गरेको थियोे ।

पञ्‍चकन्या मन्दिर परिसरमा रहेको सप्तकन्या थानमा स्थानीयले शनिबार बलि दिने तयारी गरिएको छ । रोग हरण हुने र मनले चिताएको पुग्ने विश्वासले भाकल गर्ने, गाउँको देउतालाई बुझाउन भनेर नियमित पूजाको रुपमा बोका, कुखुरा, राँगा, लगायतको बलि चढाउने चलन पनि रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्