एघार महिनामा भित्रिए ९ लाख बढी पर्यटक: अक्टोबरमा हालसम्मकै बढी, पूरा होला सरकारी लक्ष्य ?



काठमाडौ,मंसिर १६ । सन् २०२३ को ११ महिनामा नौ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार वर्षको जनवरीदेखि नोभेम्बरसम्म ९ लाख १८ हजार ३०८ नेपाल आएका हुन् । नोभेम्बरमा मात्रै १ लाख ८ हजार ६३० विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

अघिल्लो महिना अक्टोबरमा हालसम्मकै बढी १ लाख १७ हजार ३०६ पर्यटक नेपाल भित्रिएका थिए । पर्यटक आगमनको पछिल्लो आँकडाले यो वर्ष सरकारको लक्ष्य पूरा हुने सङ्केत देखिएको छ । सरकारले सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

बोर्डका निर्देशक मणिराज लामिछानेले पर्यटक आगमन निरन्तर बढिरहेकाले लक्ष्यमा पुग्न सहज हुने उल्लेख गरे । उनले भने, “एघार महिनामा नौ लाख १८ हजार बढी पर्यटक आएका छन् । १० लाखको लक्ष्य करिब पुग्न लाग्यो ।”

 पर्यटक आगमनको मुख्य स्रोतबजार छिमेकी मुलुक भारत, चीन तथा संयुक्त राज्य अमेरिका, बेलायत, अष्ट्रेलिया, श्रीलङ्का, बङ्गलादेश रहेको बोर्डले जनाएको छ ।

नोभेम्बरमा कुल पर्यटक आगमनमध्ये २० प्रतिशत भारतबाट आएका छन् । सो अवधिमा भारतबाट हवाईमार्ग भएर २४ हजार चार सय ४३ जना पर्यटक नेपाल आएका छन् । संयुक्त राज्य अमेरिकाबाट ११ हजार चार सय ६१ जना नेपाल आउँदै गर्दा अर्को छिमेकी मुलुक चीनबाट ७ हजार ६०१, बेलायतबाट ६ हजार १३८, अष्ट्रेलियाबाट ५ हजार ६०, थाइल्याण्डबाट ३ हजार ७६१, जर्मनीबाट ३ हजार ५१२, श्रीलङ्काबाट ३ हजार २२८ र फ्रान्सबाट ३ हजार २०५ जना पर्यटक भित्रिएका छन् । 

प्रतिक्रिया दिनुहोस्