पुनहिलमा पर्यटकको ओहिरो



म्याग्दी,मंसिर १६ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ मा अवस्थित पर्यटकीय स्थल पुनहिलबाट सूर्योदयको मनोरम दृश्य अवलोकन गर्न शनिबार पर्यटकको भिड लागेको छ ।घोडेपानीदेखि ४५ मिनेटको पदयात्रापछि समुद्री सतहदेखि तीन् हजार दुईसय १० मिटरको उचाईमा रहेको पुनहिलबाट हिमाल र सूर्योदयको सुन्दर दृश्य अवलोकन गर्न पर्यटकहरु पुग्ने गर्दछन् ।

शनिबार मौसम सफा भएकाले पुनहिल पुगेका पर्यटकहरु निकै रमाएका थिए । दैनिक रुपमा दुई सयदेखि तिन सयको हाराहारीमा आन्तरिक पर्यटक प्राकृतिक सुन्दरतामा रमाउन पुनहिल आएको टिहाउसका सञ्चालक विरेन पुनले बताए ।

विश्वप्रसिद्ध राउण्ड अन्नपूर्ण पदमार्गले समेटिएको घोडेपानी र पुनहिल क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल यतिखेर निकै बढेको छ । पोखराबाट पहिलोपटक पुनहिलको भ्रमणमा आएका शुसिला गुरुङले पुनहिल साच्चिकै मनोरम स्थल भएको अनुभव बताए । उनले भनिन, ‘‘म घोडेपानी र पुनहिल पहिलोपटक आएको हुँ । पुनहिल साच्चिकै सुन्दर स्थल रहेछ ।’’

असोज, कात्तिक र मङ्सिर महिना सम्म यहाँ पर्यटकको चहलपहल हुने पर्यटन व्यावसायी क्याःडमबहादुर गर्बुजाले बताए । पर्यटकका लागि यो उपयुक्त समय भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्