नुवाकोट भद्रटारमा अवस्थित त्रिवेणीधाम संरक्षण समितिको अध्यक्षमा अर्जुन गुणी



नुवाकोट,मंसिर १६ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटार र शिवपुरी गाउँपालिका वडा नम्बर ७ सुनखानीमा अवस्थित त्रिवेणी धाम संरक्षण समितिको अध्यक्षमा अर्जुनप्रसाद गुणी चयन भएका छन् ।

शनिबार भएको सरोकारवालाको भेलाले गुणीलाई अध्यक्षको पदमा चयन गरेको हो । समितिको उपाध्यक्षमा रामचन्द्र पाठक, रमा खतिवडा र रामजङ्ग बुढाथोकी रहेका छन् । त्यस्तै समितिको कोषाध्यक्षमा दामोदर सिटौला, सचिवमा पुष्कर पौडेल, सहसचिवमा राजेन्द्र खतिवडा, सदस्यहरुमा लक्ष्मी थापा, जानुका खतिवडा, बलराम कार्की,दैवशरण गुणी, पुरुषोत्तम सिटौला, केशवराज पाण्डे र माधब ठकुरी चयन भएका छन् ।

यस अघि लिलादेवी थापाको अध्यक्षतामा विभिन्न योजना निर्माण सम्पन्न भैसकेको छ । नयाँ कार्यसमिति चयनका लागि आयोजित भेलामा शिवपुरी गाउँपालिकाका पूर्व अध्यक्ष रामकृष्ण थापाको समेत उपस्थिति रहेको थियोे ।

हिमवत् खण्डमा त्रिवेणी धामको महत्त्व

त्रिवेणी धाम नुवाकोट, शिवपुरी गाउँपालिकास्थित शिवपुरी राष्ट्रिय निकुञ्जको शिवपुरीमा उद्गमस्थल रहेको सत्यवती, शिवपुरीकै चिसापानी भएर बग्ने लिखु र पञ्चकन्या गाउँपालिकाको इन्द्रेणी छहरा उद्गस्थल भएको कन्यावती खोलाको सङ्गमस्थल हो । यो शिवपुरी गाउँपालिकाका वडा नं ६ र ७ तथा पञ्चकन्या गाउँपालिकाको वडा नं ५ मा पर्छ ।

‘हिमवत खण्ड’मा उल्लिखित सो धाम समुद्री सतहबाट ७०० मिटर उचाइमा छ । राजधानी काठमाडौँबाट २५ किमी उत्तर, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाबाट ३० किमी पश्चिम र नुवाकोट सदरमुकाम विदुरदेखि २० किमी पूर्वमा त्रिवेणी धाम छ । सो धाममा पौष कृष्ण औंसीमा स्नान गर्नाले पुण्य मिल्ने जनविश्वास छ ।

यस्तै यहाँ पितृको श्राद्ध गर्नाले मोक्ष प्राप्त गर्छन् भन्ने मान्यता छ । त्रिवेणी धाममा कात्तिक शुक्ल पक्षको हरिबोधिनी एकादशीका दिन तथा मकर सङ्क्रान्तिका दिन स्नान गर्नाले पुण्य मिल्छ भन्ने पौराणिक विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्