हिमालय एयरलाइन्सको काठमाडौँ- साङ्हाइ सिधा उडान शुरू



काठमाडौँ,मंसिर १७ । हिमालय एयरलाइन्सले चीनको साङ्हाइ सहरमा आजदेखि नियमित सिधा उडान शुरू गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज ९:२० बजे एक सय ३७ यात्रुसहितको हिमालयको जहाज साङ्हाइ उडेको हो । उक्त जहाज साङ्हाइबाट यात्रु लिएर आज राति नौ बजे काठमाडौँ विमानस्थलमा अवतरण गर्ने एयरलाइन्सले जनाएको छ ।

काठमाडौँ-साङ्हाइ उडान ५ घण्टा २० मिनेटको हुनेछ । हरेक शनिबार विहान नियमित उडान हुने कम्पनीले जनाएको छ । साङ्हाइमा हिमालय एयरलाइन्सको यो पहिलो उडान हो । यो सहित कम्पनीले चीनको राजधानी  पेइचिङ सहित विभिन्न नौ शहरमा उडान विस्तार गरेको छ ।

उद्घाटन उडानबारे जानकारी दिन आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले चीनको मूख्य व्यापारिक र पर्यटकीय सहरमा सिधा उडानले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउनुका साथै बढी भन्दा बढी चिनियाँ पर्यटक नेपाल आकर्षण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

उनले नेपाल–चीन सम्बन्धलाई थप उचाइमा लैजान, व्यावसायिक साझेदारी बढोत्तरीका साथै चिनियाँ पर्यटक भित्र्याउन काठमाडौँ–साङ्हाइ हवाई सम्पर्क सञ्जालले टेवा पुग्नेमा विश्वास व्यक्त गरे । उपाध्यक्ष श्रेष्ठले कोभिड–१९ पछि नेपालमा चिनियाँ उडान बढेको, सीमा नाकाहरु खुलेकाले आगामी दिनमा उडान बढ्ने र पर्यटक आगमनमा पनि बढोत्तरी हुने बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले कोभिड महामारीपछि चीनबाट क्रमशः उडान विस्तार भइरहेकाले आगामी दिनमा चिनियाँ पर्यटक बढ्ने विश्वास व्यक्त गरे । उनले पछिल्लो समय काठमाडौँ विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ दैनिक एक सयभन्दा बढी उडानमार्फत करिब १५ हजार यात्रु आवत-जावत गरिरहेको जानकारी दिए ।

नेपालका लागि चिनियाँ राजदूताबासका आर्थिक तथा वाणिज्य कन्सुलर छि यूले साङ्हाइ-काठमाडौँमा हिमालय एयरलाइन्सको उडानले दुई देशबीचको सम्बन्ध बलियो हुनुका साथै व्यापारिक दृष्टिले पनि महत्वपूर्ण भएको बताए ।

साङ्हाइ जनवादी गणतन्त्र चीनको ठूलो सहरमध्ये एक हो । करिब ४० मिलियन जनसङ्ख्या रहेको साङ्हाइ चीनको उद्योग कलकारखानाको राजधानीका रुपमा पनि कहलिएको छ । यो चीनको मूख्य व्यापारिक केन्द्र पनि मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्