घोडेपानी–पुनहिल पर्यटकले खचाखच



म्याग्दी,मंसिर १८ । स्वदेशी तथा विदेशी पर्यटकमाझ अन्नपूर्ण चक्रीय पदमार्गका रूपमा चर्चित म्याग्दीको घोडेपानी–पुनहिल पर्यटकले भरिएको छ । पछिल्लो चार महिनाको अवधिमा १२ हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् ।  

पर्यटक प्रहरी कार्यालय घोडेपानीका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर १० गतेसम्म १२ हजार ३६१ विदेशी पर्यटकले घोडेपानी र पुनहिल क्षेत्रको भ्रमण गरेका छन् । 

पर्यटक प्रहरीले विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । कात्तिक महिनामा सबैभन्दा बढी विदेशी पर्यटकले घोडेपानीको भ्रमण गरेका छन् । 

साउन महिनामा ९७६, भदौमा ९९३, असोजमा तीन हजार १११, कात्तिकमा पाँच हजार ३७९ र मङ्सिरको १० गतेसम्म एक हजार ५०२ जना पर्यटकले भ्रमण गरेको पर्यटक प्रहरी कार्यालय प्रहरी सहायक निरीक्षक तारा बुढामगरले जानकारी दिए । पर्यटकीय याम सुरु भएदेखि असोज र कात्तिक महिनामा दुई हजार पाँच सयदेखि तीन हजारसम्म आन्तरिक पर्यटकहरू भ्रमणमा आएका छन् । विगतका वर्षको तुलनामा यस वर्ष पर्यटकको सङ्ख्यामा कमी आएको घोडेपानीका पर्यटन व्यावसायी डमबहादुर गर्बुजाले बताए । 

उनले भने, “कोरोना महामारीपछि गत वर्ष पर्यटकको उत्साहजनक आगमन भयो । यस वर्ष केही कम देखिए पनि बिस्तारै बढ्ने अपेक्षा गरेका छौँ ।” सडक यातायातको विस्तारसँगै अन्नपूर्ण पदमार्ग मासिएपछि विदेशी पर्यटकहरू यस क्षेत्रमा आउन नमान्ने गरेको मल्टी एडभेन्चर काठमाडौँका पथप्रदर्शक डाइला शेर्पाले बताए । 

समुद्र सतहदेखि तीन हजार दुई सय मिटर उचाइमा रहेको पुनहिलमा सूर्योदय र हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । घोडेपानी पर्यटकको महत्वपूर्ण बासस्थानमा पर्छ । यहाँ साना ठूला गरी २६ वटा होटल सञ्चालनमा छन् । 

पुनहिल प्रवेश गर्न नेपालीले ५० र विदेशीले १५० रुपियाँ प्रतिव्यक्तिका दरले शुल्क तिर्नुपर्ने हुन्छ । पुनहिलबाट धौलागिरि, सिस्ने, गुर्जा, मानापाथी, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ«े मनासलु हिमालको अवलोकन गर्न सकिन्छ । 

अन्नपूर्ण परिक्रमापछि तातोपानी हुँदै कास्कीको विरेठाँटी–उल्लेरी, छोम्रोङ–घान्द्रुक–टाडापानी, नागी–महरे हुँदै चार वटा नाकाबाट पर्यटक घोडेपानीमा भित्रिने गरेका छन् । घोडेपानीमा बास बस्ने पर्यटकहरू एकाबिहानै पुनहिल भ्रमणमा जाने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्