हिमपातका कारण डोल्पामा जनजीवन कष्टकर



डोल्पा,मंसिर १८ । उपल्लो डोल्पामा यो वर्षको पहिलो हिमपात भएको छ । सोमबार बिहानदेखि परेको अविरल वर्षसँगै हिमपात भएको हो ।

उत्तरी सीमा नाकामा पर्ने डोल्पोबुद्ध छार्काताङसोङ, शेफोक्सुण्डो र काइके गाउँपालिकामा बाक्लो हिमपात भएपछि त्यहाँको जनजीवन कष्टकर बनेको छ ।

यसैगरी, तल्लो डोल्पामा पर्ने जगदुल्ला गाउँपालिका, त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने खालीवन बन्तडी हुमलगायतका बस्तीमा समेत हिउँ जमेको छ ।

यस्तै, ठूलिभेरी नगरपालिकामा पर्ने माझफाल थरगाउँ दुरगाउँ र काँडातालीमा पनि हिउँ जमेको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी शिव बुढाथोकीले जानकारी दिए ।

हिमपातका कारण अत्यधिक चिसो बढेपछि वृद्धवृद्धा, महिला र बालबालिकालाई समस्या भएको छ । हिमपातले गर्दा उपल्लो डोल्पाका सम्पूर्ण विद्यालयको पठनपाठन पूर्णरुपमा प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्