हिमपातले मनाङको जनजीवन कष्टकर



मनाङ,मंसिर १९ । मनाङमा सोमबार बिहानैदेखि परेको हिमपातका कारण जनजीवन कष्टकर बन्दै गएको छ । मनाङका चारैवटा पालिकामा यो सिजनको पहिलो हिमपात भएको हो ।

नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोञ्जो तेन्जिङ लामाले मनाङका उच्च हिमाली भेगमा भारी हिमपात भएको जानकारी दिए। उनले भने, “हिमपात हुँदा किसान खुसी भएका छन् ।” उहाँका अनुसार गहुँ, जौ, उवा छर्ने समय भएकाले किसान बढी खुसी भएका हुन् ।

मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले माथिल्लो मनाङ आएका पर्यटक हिमपातका कारण होटलमै बस्न बाध्य भएको बताए । उनका अनुसार दुई फिटसम्म बाक्लो हिमपात भएकाले सडक सबै छोपिएको तथा तिलिचो जाने पर्यटक बाटैमा होटलमा बसेका छन् ।

माथिल्लो मनाङमा २ फिटसम्म हिउँ जमेको मनाङ ङिस्याङका कृषक याङदुङ गुरुङले जानकारी दिए । उनले भने, “हिमपातका कारण धारामा पानी जमेको छ । अत्यधिक चिसो भएको छ । चिसोका कारण मनाङ भ्रमणमा आएका पर्यटकहरु प्रभावित भएका छन् ।”

हिमपात भएपछि मनाङका स्याउ उत्पादक कृषकहरु भने खुसी भएका छन् । हिमपातले स्याउको फूल खेल्न र दाना लाग्न सहयोग पुग्नुका साथै स्याउ उत्पादनमा समेत वृद्धि हुने भएकाले स्थानीय कृषकहरु खुसी भएको कृषक राम गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्