राजस्व हिनामिनामा फरार पाँच कर्मचारी पक्राउ



विराटनगर,मंसिर २०। यातायात व्यवस्था कार्यालय, इटहरीमा भएको राजस्व हिनामिनामा दोषी ठहर भएका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पाँच जनालाई ३९ वर्ष ५ महीना २३ दिन कैद सजायसहित ६८ करोड ३२ लाख रुपैयाँ राजस्व असुल गर्न विशेष अदालतले यसअघि नै फैसला सुनाएको थियो ।

राजस्व रकम हिनामिना मुद्दामा कैद सजाय तोकिएपछि फरार रहेकाहरूमा यातायात व्यवस्था कार्यालय, इटहरीका तत्कालीन प्रमुख नयराज नेपाल, तत्कालीन लेखापाल मणिराम दाहाल, कर्मचारीहरू कुमारबहादुर कटुवाल, टीकाराम अधिकारी र देवराज नेपाल थिए । नेपाल अवकाश पाउनु एक वर्ष पहिले यातायात कार्यालयमा सरुवा भएका थिए ।

विशेष अदालत काठमाडौंले २०७९ चैत ८ गते उनीहरूलाई भ्रष्टाचार (राजस्व रकम हिनामिना) कसुरमा दोषी ठहर गरेको थियो । तत्कालीन लेखापाल दाहाललाई ७ वर्ष ११ महीना २३ दिन कैद र ४ करोड ३४ लाख ५ हजार ५९४ रुपैयाँ जरीवानाको फैसला सुनाइएको थियो । यस्तै, नेपाललाई ८ वर्ष कैद र १२ करोड ३५ लाख

२९ हजार ३४२ रुपैयाँ जरीवाना, कटुवाललाई ६ वर्ष कैद र १ करोड १ लाख ६५ हजार ८१२ रुपैयाँ जरीवाना, अधिकारीलाई ९ वर्ष कैद र २८ करोड १५ लाख ९३ हजार ८८४ रुपैयाँ जरीवाना तथा देवराज नेपाललाई ८ वर्ष ६ महीना कैद र २२ करोड ४५ लाख २७ हजार ६७६ रुपैयाँ जरीवानाको फैसला गरिएको थियो । उनीहरूले ३९ वर्ष ५ महीना २३ दिन कैद भुक्तान तथा ६८ करोड ३२ लाख २२ हजार ३०८ रुपैयाँ जरीवाना तिर्न बाँकी थियो ।

मोरङ प्रहरीले उनीहरूलाई विराटनगरबाट सोमवार साँझमा पक्राउ गरेको हो । त्यसपछि मंगलवार अदालतमा उपस्थित गराएर कैद सजाय भुक्तानका लागि मोरङ कारागार चलान गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसी रञ्जनकुमार दाहालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्