कालीमाटीमा आलु र प्याजको स्टलहरू नै खाली: भ्याटको कारण व्यापारीले छोडे कारोबार



काठमाडौं,मंसिर २० । सरकारले भ्याट लाग्ने नीति फिर्ता नल्याएपछि व्यवसायीहरूले आलु र प्याजको बिक्री रोकेका छन् । सरकारले चालु आवको बजेट मार्फत प्याज र आलुमा १३ प्रतिशत भ्याट लगाउने नीति ल्याएको थियो । सुरुदेखि नै त्यसको विरोध भए पनि सरकारले फिर्ता ल्याएको थिएन । 

पहिला आयातित प्याज र आलुमा मात्रै भ्याट लगाउने भनेको सरकारले अहिले आन्तरिक रुपमा उत्पादन भएको प्याज र आलुमा पनि भ्याट लगाउन थालेको छ । त्यसपछि व्यापारीले यसको कारोबार रोकेर हडताल सुरु गरेका छन् ।

कालीमाटी तरकारी बजारमा पछिल्लो ३ दिन देखि प्याज र आलु छैन । कालीमाटीको दैनिक मूल्य सुचीमा प्याज र आलुको दर रेट नै उल्लेख गरिएको छैन ।आलु र प्याज नभएका कारण दर रेट नतोकिएको कालीमाटी बजार विकास समितिको भनाइ छ । आलु र प्याजको स्टलहरू नै खाली रहेको छ । 

योसँगै अब बजारमा आलु र प्याजको अभाव हुने देखिएको छ । नेपालीहरूको भान्सामा आलु र प्याजको महत्त्व ठुलो छ । कुनै पनि प्रकारको तरकारीमा प्याज अनिवार्य जस्तै छ । साथै, आलु पनि नेपाली सबै भन्दा बढी खाने तयारी भित्र पर्छ । यसरी भ्याटका कारण व्यापारीले आलु र प्याजको कारोबार नै गर्न छोडेपछि बजारमा यसको हाहाकार हुने सम्भावना पनि देखिएको छ ।

साथै, यही कारण बजारमा प्याज र आलुको अभाव हुन थालिसकेको छ । त्यसपछि सबै खाले व्यापारीले आलु र प्याजमा मनपरी मूल्य तोकेको पनि बताइएको छ । कतिपयले भित्रै भित्रै अवैध कारोबार समेत गरेको हुन सक्ने आशङ्का गरिएको छ ।

बाहिर अभाव देखाएर भित्र भित्र महँगोमा  यसको कारोबार गरेको हुन सक्ने उपभोक्ताहरू बताउँछन् । तर, बजारमा आलु र प्याजको चरम अभाव सिर्जना हुँदै गर्दा कृषि तथा पशुपक्षी मन्त्रालय भने यसबारे अनविज्ञ छ । यद्यपि, कालीमाटी बजार किसान समितिले भ्याटबारे सहजीकरण गर्न मन्त्रालयलाई पत्र पठाइसकेको छ । त्यसको आधारमा मन्त्रालयले आन्तरिक उत्पादनमा भ्याट लाग्ने व्यवस्थाबारे सहजीकरण गर्न कालीमाटी फलफूल तथा तरकारी विकास समितिलाई पत्रकार गरेको छ । अब समितिले नै आन्तरिक राजश्व विभागसँग समन्वयन गरेर यसको समाधान गर्न सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्