१२ वर्षको ढिलाइपछि चीन–उत्तर कोरिया जोड्ने नयाँ पुल सञ्चालनमा
एजेन्सी,असोज ३० । चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ यालु नदी पुल १२ वर्षको ढिलाइपछि बिहीबारदेखि सञ्चालनमा आएको छ। पुल सञ्चालनमा आएसँगै दुई देशबीच व्यापार, यातायात तथा आर्थिक सहकार्य विस्तार हुने अपेक्षा गरिएको छ।
चीनको डान्दोङ सहर र उत्तर कोरियाको सिनुइजु सहरलाई जोड्ने चार लेनको पुलको उद्घाटनका अवसरमा दुवै देशका प्रधानमन्त्रीले भिडियो सन्देश दिनुभएको थियो। चिनियाँ प्रधानमन्त्री ली छ्याङले पुललाई दुई देशबीचको परम्परागत मित्रताको प्रतीकका रूपमा उल्लेख गर्दै सीमावर्ती क्षेत्रमा सहकार्य बढ्ने विश्वास व्यक्त गर्नुभयो।
सन् २०१४ मै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको पुल उत्तर कोरियातर्फको निर्माण कार्य अधुरो रहेपछि लामो समयसम्म सञ्चालनमा आउन सकेको थिएन। चीनमाथिको उत्तर कोरियाको आर्थिक निर्भरता र आणविक कार्यक्रमका कारण लगाइएका प्रतिबन्धमा चीनको भूमिकालगायत विषयले पनि ढिलाइमा प्रभाव पारेको हुन सक्ने अनुमान गरिएको थियो।
नयाँ पुल सञ्चालनमा आएपछि दुई देशबीचको ७० प्रतिशतभन्दा बढी आधिकारिक व्यापार सम्हाल्दै आएको पुरानो पुलमा यातायातको चाप कम हुने अपेक्षा गरिएको छ। दशकौँ पुरानो उक्त पुलमा सडक यातायात एकपटकमा एकतर्फ मात्रै सञ्चालन गर्न सकिन्छ।
रुस र उत्तर कोरियाबीच सडक पुल सञ्चालनमा आएको करिब एक महिनापछि चीनसँगको नयाँ पुल खुलेको हो। चीन लामो समयदेखि उत्तर कोरियाको प्रमुख व्यापारिक साझेदार रहँदै आएको छ। यद्यपि, पछिल्ला वर्षमा उत्तर कोरियाली नेता किम जोङ उनले रुससँगको सम्बन्ध पनि विस्तार गर्नुभएको छ।
युक्रेन युद्धमा रुसलाई सैनिक तथा हतियार सहयोग गरेको उत्तर कोरियाले त्यसको बदलामा सैन्य र आर्थिक सहयोग प्राप्त गरेको हुन सक्ने विश्लेषकहरूको भनाइ छ। चीनले उत्तर कोरियामा आफ्नो प्रभाव कायम राख्न चाहेको विश्लेषण भइरहेका बेला गत वर्ष उत्तर कोरियाको कुल व्यापारमा चीनको हिस्सा ९८ प्रतिशत रहेको थियो।

