हेलिकप्टरबाट लाङटाङमा १० टन खाद्यान्न ढुवानी, सबै घरधुरीलाई वितरण
काठमाडौं,असोज ३० । गत भदौ १० गतेको विनाशकारी बाढीका कारण सडक तथा पैदलमार्ग अवरुद्ध भएपछि खाद्यान्न सङ्कटको जोखिममा परेको रसुवाको लाङटाङ क्षेत्रका सबै घरधुरीलाई हेलिकप्टरमार्फत खाद्यान्न पुर्याएर वितरण गरिएको छ।
गोसाइँकुण्ड गाउँपालिका–४ मा पर्ने प्रमुख पर्यटकीय तथा दुर्गम हिमाली बस्ती लाङटाङका बासिन्दालाई खाद्यान्न अभाव हुन नदिन गाउँपालिका र सरोकारवाला निकायको सक्रियतामा राहत सामग्री पुर्याइएको हो।
बाढीले स्थानीयवासीको मुख्य व्यापारिक केन्द्र स्याफ्रु बजारमा ठूलो क्षति पुर्याउनुका साथै सडक तथा पुलसमेत बगाएपछि लाङटाङमा खाद्यान्न ढुवानीका लागि हेलिकप्टरको सहारा लिनुपरेको थियो।
गोसाइँकुण्ड गाउँपालिका–४ का वडाध्यक्ष डिन्ढुप तामाङका अनुसार विश्व खाद्य कार्यक्रमको हेलिकप्टरमार्फत हालसम्म १० टन खाद्यान्न लाङटाङ पुर्याइएको छ। उक्त खाद्यान्न स्थानीय सबै घरधुरीलाई आवश्यकताअनुसार न्यायोचित रूपमा वितरण गरिसकिएको उहाँले जानकारी दिनुभयो।
सदरमुकाम धुन्चेबाट दुई दिनको पैदल दूरीमा रहेको लाङटाङका सबै बासिन्दाले गाउँमै खाद्यान्न पाएपछि राहत महसुस गरेका छन्। सडक सञ्जाल पुनः सञ्चालनमा नआएसम्मका लागि खाद्यान्न ढुवानीले स्थानीय परिवारको दैनिक जीविकोपार्जनमा ठूलो सहयोग पुगेको वडा कार्यालयले जनाएको छ।

