त्रिशूली अस्पतालमा एमआरआई मेसिन जडान गर्न समझदारी, तीन जिल्लाका नागरिक लाभान्वित हुने
नुवाकोट,असोज ३० । नुवाकोटको त्रिशूली अस्पतालमा चुम्बकीय अनुनाद चित्रण (एमआरआई) मेसिन जडान गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ। यससँगै नुवाकोट, रसुवा र धादिङका नागरिकलाई स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रयास अघि बढेको छ।
अस्पतालमा एमआरआई सेवा सञ्चालनमा आएपछि जटिल रोगको पहिचान तथा परीक्षणका लागि काठमाडौं जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ। यसबाट तीन जिल्लाका नागरिकले समय र खर्च बचाउँदै आफ्नै क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा लिन सक्नेछन्।
एमआरआई मेसिन उपलब्ध गराउने कार्यमा अन्तर्राष्ट्रिय रेडक्रस महासङ्घ (आईएफआरसी), नेपाल रेडक्रस सोसाइटी नुवाकोट र विदुर नगरपालिकाले सहकार्य गरेका छन्। उक्त कार्यका लागि विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले समेत पहल गर्नुभएको जनाइएको छ।
एमआरआई मेसिन जडान तथा सेवा सञ्चालनको प्रक्रिया अघि बढेसँगै त्रिशूली अस्पतालको स्वास्थ्य सेवा थप विस्तार हुने र स्थानीय नागरिकलाई आधुनिक स्वास्थ्य परीक्षणमा सहजता पुग्ने अपेक्षा गरिएको छ।

