स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु, एक जना गम्भीर घाइते
विराटनगर,असोज २९ । विराटनगरमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार एक जना गम्भीर घाइते भएका छन्।
मोरङको विराटनगर महानगरपालिका–५ पुल्चोकस्थित हुलाकी सडकखण्डमा असोज २९ गते दिउँसो करिब ३:१५ बजे दुर्घटना भएको हो।
अनटेस्ट स्कुटर अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएपछि विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–००१ क ३७८२ नम्बरको स्कुल बसमा ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा स्कुटर चालक सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ निवासी १८ वर्षीय मो. रिहानरेन मियाको उपचारका क्रममा मृत्यु भएको छ। स्कुटरको पछाडि सवार राजविराज नगरपालिका–९ निवासी १८ वर्षीय मो. नजाम मिया गम्भीर घाइते भएका छन्। उनको विराट नर्सिङ होममा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
दुर्घटनामा संलग्न स्कुटर र स्कुल बस प्रहरीको नियन्त्रणमा रहेका छन्। दुर्घटनापछि फरार भएका बस चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

