एनसेलको शेयर खरीद विक्रीबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन
काठमाडौं,मंसिर २२। सरकारले एनसेलको शेयर खरीद विक्रीबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।
विहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
समितिमा सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव हृदयेशकुमार शाक्य र आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले सदस्य छन् । समितिलाई ३० दिनको कार्यअवधि दिइएको प्रवक्ता शर्माले जानकारी दिइन् ।
मलेसियाको आजिआटा कम्पनीले रेनोल्ड्स होल्डिङ्स (सेन्ट किट्समा रहेको कम्पनी)को नाममा रहेको एनसेलको सबै (८० प्रतिशत) शेयर बेलायतमा हालै दर्ता भएको स्पेक्ट्रलाइट नामक कम्पनीलाई बेच्ने निर्णय गरेको हो ।
नियमनकारी निकायको पूर्वस्वीकृतिबिना एनसेलको शेयर विक्री गरेको र कर छल्न खोजेको आशंकामा प्रश्न उठेपछि मंगलवार सत्तारुढ दलहरूको बैठकले यसबारे छानबिन गर्ने निर्णय गरेको थियो । त्यसको भोलिपल्ट प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले एनसेलको शेयर खरीदविक्री रोक्न नियमनकारी निकायहरूलाई निर्देशन दिएको थियो ।