एमालेको संकल्प यात्रा: भोलि नुवाकोटमा ओलीले सम्बोधन गर्ने



नुवाकोट,मंसिर २२। ‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ भन्ने नारासहित बैतडीको झुलाघाटबाट शुरु भएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)को समृद्ध संकल्प यात्रा शनिवार नुवाकोट आईपुग्ने भएको छ ।

झुलाघाटबाट मध्यपहाडी लोकमार्ग हुँदै पाँचथरको चिवा भञ्ज्याङ्सम्मको गन्तब्य बनाएको संकल्प यात्रा शनिवार नुवाकोटको सामरी भञ्ज्याङ् आईपुग्ने एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले बताएका छन् ।

संकल्प यात्रा अन्तर्गत शनिवार नुवाकोटको सामरी भञ्ज्याङ्, देउडी, बगुवा, त्रिशुली बजार हुँदै बट्टारको घण्टाघरमा आयोजना हुने संकल्प सभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने तयारी रहेको छ । कार्यक्रमको लागि झण्डा राख्ने, गेट बनाउने, स्वागतद्वार बनाउने लगायतका विविध काम सकिएको नुवाकोट एमालेले जनाएको छ ।

सभालाई एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल लगायतका नेताहरुले समेत संबोधन गर्ने तयारी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्