रुसी सेनामा नेपाली : स्वदेश फिर्ताको पहल
काठमाडौं,मंसिर २३ । परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा संलग्न भएका भनिएका नेपाली नागरिकको यकिन तथ्याङ्क सङ्कलन र स्वदेश फिर्ताको पहल भइरहेको बताएका छन् ।
सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिमा उनले भर्ना भएकाको सङ्ख्या र स्वदेश फिर्ताका लागि सहजीकरण गर्न कूटनीतिक रूपमा रुसलाई आग्रह गरिएको बताए । उनले विद्यार्थी तथा भ्रमण प्रवेशाज्ञामा गएर फरक प्रयोजनमा काम गरिरहेको पाइएको बताएका छन् ।
परराष्ट्रमन्त्री साउदले द्वन्द्वका क्रममा दिवङ्गत भएका नेपाली नागरिकका परिवारलाई क्षतिपूर्तिका लागि पहल भइरहेको बताए । उनले भने, “रुसमा नेपाली मारिएको बारे दूतावासले कुरा गरेको छ । खास केही सन्धि सम्झौताबाहेक अन्य अवस्थामा नेपाली नागरिकले कुनै पनि देशको सेनामा भर्ना नगर्ने नेपाल सरकारको नीति पनि हो । दिवङ्गतको पक्षमा क्षतिपूर्तिका लागि सम्बन्धित देशमा लेखेका छौँ । भर्ना भएका कति छन् यकिन गर्न र फिर्ताको आग्रह रुसलाई गरिसकेका छौँ ।”
उनले रुस–युक्रेन युद्धका क्रममा पनि दुई नेपाली बन्धक रहेको जानकारी प्राप्त भएको बताए । उनले एक जनाको अवस्थाका बारेमा युक्रेनको दिल्लीस्थित र बर्लिनको नेपाली दूतावासले पनि पुष्टि गरेको बताए । उनले एक जनाको हकमा परिवारले बन्धक भएको जानकारी दिएको र थप बुझ्ने काम भइरहेको जानकारी दिए ।
परराष्ट्रमन्त्री साउदले इजरायल हमास युद्धका क्रममा बेपत्ता विपिन जोशीको खोजीबारे कूटनीतिक पहल जारी रहेको बताए। उनका अनुसार शुक्रबार पनि इजरायलसँग छलफल भएको छ । उनले दोहा फोरममा सहभागी हुने क्रममा पनि त्यहाँका उच्च अधिकारीसँग हमाससँग समन्वयका लागि आग्रह गर्ने समितिमा जानकारी दिए ।
उनले पोर्चुगलमा दूतावास खोल्ने सरकारको निर्णय सुझबुझपूर्ण रहेको बताउँदै गत कात्तिक २ गतेको बैठकमा निर्णय भएको र पोर्चुगलले पनि सहमति दिएको जानकारी समितिलाई दिए ।
उनले दूतावास स्थापनाले राहदानी र कन्सुलर सेवामा सहज हुने बताए । आर्थिक सङ्कटको अवस्थामा नयाँ दूतावास स्थापना गरेको भन्दै समितिले मन्त्रीसँग छलफल गर्ने निर्णय गरेको थियो । सोही अनुसार शुक्रबार परराष्ट्रमन्त्री साउद समितिमा उपस्थित थिए ।
नेपालको नाम अनुमोदन
संसदीय सुनुवाइ समितिले पोर्चुगलका लागि प्रस्तावित राजदूत सनिल नेपालको नाम सर्वसम्मत अनुमोदन गरेको छ । नयाँ दूतावास स्थापनासँगै सरकारले नेपालको नाम राजदूतमा प्रस्ताव गरेको थियो । शुक्रबार सुनुवाइपछि समितिले नाम सर्वसम्मत अनुमोदन गरेको हो । अब उनको नियुक्तिका लागि बाटो खुलेको छ ।
सुनुवाइका क्रममा नेपालले दूतावासबाट हुने राहदानी र कन्सुलर सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाए । राजनीतिक तथा कूटनीतिक सम्बन्ध स्थापनाका लागि पनि पहल गर्ने उनको कार्ययोजना सुनाए ।
उनले पोर्चुगल–नेपालबिचको परामर्श समितिलाई क्रियाशील बनाउने, संसदीयमैत्री सम्बन्ध र खेल कूटनीतिलाई पनि प्राथमिकतामा राख्ने बताए ।
विपिनको रिहाइका लागि छलफल
यसैबिच परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले कञ्चनपुरका विपिन जोशीको रिहाइका विषयमा इजरायल सरकारका बन्दी तथा बेपत्ता व्यक्तिहरूका विषयमा हेर्ने संयोजक गल हर्चसँग छलफल गरेका छन् । उनीसँग सुदूरपश्चिम विश्वविद्यालयबाट ‘अर्न एन्ड लर्न’ कार्यव्रmम अन्तर्गत अध्ययनका लागि इजरायल पुगेका जोशीको हालको अवस्था पत्ता लगाउन, सुरक्षाको प्रत्याभूति गर्न र शीघ्र रिहाइ गराउने पहल गर्न शुक्रबार हर्चसँग टेलिफोनवार्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपालको इजरायलसँगको ऐतिहासिक सम्बन्धका सन्दर्भमा यस मानवीय सहयोगले विशेष अर्थ राख्ने मन्त्री साउदले बताए । जवाफमा संयोजक हर्चले इजरायलले जोशीलाई पारिवारिक सदस्य जस्तो मानेको र उमको रिहाइलाई प्राथमिकताका साथ ध्यान दिने आश्वासन दिएको जनाइएको छ ।
यसअघि परराष्ट्रमन्त्री साउदले गत मङ्गलबार कतारका राजदूत मिसाल मोहम्मद अल अन्सारीसँग विद्रोही हमासको नियन्त्रणमा रहेका जोशीको रिहाइका लागि सबै उपाय लगाउन आग्रह गरेका थिए ।