कोशीमा एमालेको यात्रा अभियान अवरोध नगर्न अपिल
काठमाडौं,मंसिर २६ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले झुलाघाट—चिवाभञ्ज्याङ यात्रामा अवरोध नगर्न अपिल गरेको छ । मङ्गलवारबाट कोशी प्रदेश प्रवेश गर्न लागेको एमाले मध्य पहाडी पुष्पलाल लोक मार्ग यात्रामा अवरोध सिर्जना नगर्न आग्रह गरेको हो ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केही समूहहरूद्वारा एमालेको अभियानलाई अवरोध गर्ने कार्यक्रम राखेकोप्रति पार्टीको ध्यानाकर्षण भएको बताए । उनले प्रदेश बन्द, सडक बन्द लगायतका गतिविधि सार्वजनिक गर्ने भन्ने सुनेको भन्दै पार्टीका तर्फबाट सबै समूहहरूलाई अवरोध सिर्जना नगर्न आग्रह गर्नुभयो । उहाँले नेकपा एमालेको अभियान विकास र समृद्धिको अभियान भएकाले यस्ता अभियानमा अवरोध सिर्जना नगर्न र अभियानमा सहयोग पुर्याउन आग्रह गरे ।
जनताको मुद्दालाई सम्बोधन गरेर अघि बढ्नुपर्ने अहिलेको अवस्था रहेको भन्दै राजनीतिक दलको अभियानमा अवरोध सिर्जना नगर्न र असहमति भए औपचारिक रूपमा शान्तिपूर्ण रूपमा गुनासा राख्न आग्रह गरे । कोशी प्रदेशको नामको सवाल कोशी प्रदेश सभाको आफ्नो सवाल भएकाले त्यस्ता मुद्दालाई औपचारिक रूपमा प्रदेश सभामा उपस्थिति गराएर छलफल गर्ने वातावरण मिलाउनुपर्ने बताए । काशी प्रदेश नामकरणमा एमालेसहित नेपाली काँग्रेस नेकपा (माओवादी केन्द्र) पनि सहभागी भएकाले नेकपा एमालेलाई मात्रै निशाना बनाइ गरिने अवरोध लोकतान्त्रिक हुन नसक्ने जिकिर गरे ।
प्रमुख गौतमले एमालेको यो अभियान जनताका मुद्दा सम्बोधन गर्ने अभियान भएकाले सबैले सहयोग गर्न आवश्यक रहेको बताए । नेकपा एमालेको मध्य पहाडी पुष्पलाल लोक मार्ग यात्रा मंगलबार बाट उदयपुरको घुर्मी हुँदै खोटाङ प्रवेश गर्दै छ ।