पद्मप्रसाद पाण्डे संघीय संसदको कार्यवाहक महासचिव नियुक्त



काठमाडौं,मंसिर २७ । पद्मप्रसाद पाण्डेय संघीय संसदको कार्यवाहक महासचिव नियुक्त भएका छन् । संघीय संसदका महासचिव भरतराज गौतमले राजीनामा दिएपछि उनको स्थानमा पाण्डेयलाई कार्यवाहक महासचिव नियुक्ति गरिएको हो ।

पाण्डेयलाई सभामुख देवराज घिमिरेले कार्यवाहक महासचिव नियुक्त गरेको संघीय संसदका प्रवक्ता टेकराज गिरीले जानकारी दिए । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेयको नाम सिफारिस गरेका थिए ।

सभामुख र राष्ट्रिय सभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले संसदको महासचिव नियुक्त गर्ने कानुनी व्यवस्था छ । राष्ट्रपतिबाट महासचिव नियुक्तिमा ढिलाइ भएपछि सभामुखले कार्यवाहक तोकेका हुन् । कार्यवाहक महासचिव तोक्ने अधिकार भने सभामुखलाई रहेको छ ।

प्रशासनिक नेतृत्व नहुँदा संघीय संसद दिवसका सन्दर्भमा गर्नुपर्ने कतिपय काममा प्रभाव परेको, लोक सेवाबाट सिफारिस भएर आएका कर्मचारीको नियुक्तिलगायतमा प्रभाव परेका कारण सभामुखले कार्यवाहक तोकेको उनको सचिवालयले स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्