इजरायल रोजगारीको प्रलोभन देखाई हुने ठगीबाट बच्न विभागको आग्रह
काठमाडौं,मंसिर २७ । इजरायलमा रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै वैदेशिक रोजगार विभागले सचेत रहन आग्रह गरेको छ ।
विभागले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौता बमोजिम मात्रै इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट सहायक कामदारहरु पठाउने काम भइरहेको जनाएको छ ।
इजरायलको कृषि क्षेत्रमा नेपाली श्रमिक लैजाने विषयमा इजरायलसँग छलफल भइरहे पनि यस विषयमा कुनै पनि निर्णय भइ नसकेको प्रेस विज्ञप्तिमा उल्लेख छ । यस सम्बन्धमा कुनै निर्णय भए विभागको वेवसाइटमा सार्वजनिक रुपमा सूचना प्रकाशित गरिने विभागले जनाएको छ ।
इजरायलका विभिन्न क्षेत्रमा रोजगारीको प्रलोभन देखाइ विभिन्न व्यक्ति तथा समूहहरूले गैरकानुनी रूपमा प्रलोभनमा पारी रकम उठाउने गरेको सूचना आएको भन्दै विभागले सचेत रहन सरोकारवाला सबैलाई अनुरोध गरेको हो ।
ठगीका सम्बन्धमा सूक्ष्म अनुसन्धान भैरहेको भन्दै विभागले त्यस्ता भ्रमपूर्ण कार्यमा संलग्न नहुन पनि विभागले अनुरोध गरेको छ ।