नेवाः ताम्सालिङको माग गर्दै प्रदर्शन
काठमाडौं,मंसिर ३० । बागमति प्रदेशको नाम नेवाः ताम्सालिङ हुनुपर्ने माग गर्दै तामाङ र नेवार समुदायले शनिबार काठमाडौंमा प्रदर्शन गरेका छन् । ताम्सालिङ संयुक्त संघर्ष समिति, नेपाल तामाङ घेदुङ र नेवा दय दवु थिथि खलः पुचःले काठमाडौंको भुगोलपार्क न्युरोडदेखि असनचोकसम्म प्रदर्शन गरेका हुन् ।
असनचोकमा आयोजित सभालाई सम्बोधन गर्दै तामाङ र नेवार अगुवाहरुले बागमति प्रदेशको नाम खारेज गरेर नेवाःताम्सालिङ राखिनुपर्ने आफुहरुको प्रमुख माग रहेको धारण राखे । वक्ताहरुले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताविरुद्ध नबोल्न पनि खबरदारी गरेका छन् ।
सभालाई सम्बोधन गर्दै नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले बागमति प्रदेशको नाम नेवा ः ताम्सालिङ राखिनु आफुहरुको न्युनतम शर्त रहेको बताए । पछिल्ला दिनमा देशमा परिवर्तन विरोधीहरु सल्बलाएको भन्दै अध्यक्ष तामाङले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताविरुद्ध नबोल्न पनि खबरदारी गरे ।
नेवा दय दुवुका अध्यक्ष पवित्रमान बज्रचार्यले पहिचानको आन्दोलन कुनै जात, धर्म र पार्टीविरुद्ध नभएको बताए । उनले नेवाः ताम्सालिङ यो भुमिमा बस्ने सबैको साझा भएको भन्दै पहिचानको मुद्दालाई गलत अर्थ नलगाउन आग्रह गरे।