भारतीय संसदका ७८ सांसद निलम्बित



नयाँदिल्ली,पुस ३ । विभिन्न विपक्षी दलका ७८ जना संघीय सांसदलाई ‘पटक–पटक संसद्को कार्यवाही अवरुद्ध गरेको’ भन्दै जारी हिउँदे अधिवेशनको बाँकी अवधिका लागि सोमबार निलम्बित गरिएको छ । भारतीय संसदको तल्लो सदन लोकसभाका ३३ र माथिल्लो सदन राज्यसभाका ४५ जना सांसदको संलग्नता रहेको यो निलम्बनलाई भारतको संसदीय इतिहासमा सांसदहरूको सबैभन्दा ठूलो निलम्बनको रूपमा वर्णन गरिएको छ । 

गत साता लोकसभाका १३ र राज्यसभाका एक गरी १४ सांसदलाई सदनको कार्यवाहीका क्रममा ‘अमर्यादित आचरण’ गरेको भन्दै निलम्बित गरिएको थियो ।

त्यसैगरी, गत डिसेम्बर १३ मा दुईजना युवाले भिजिटर्स ग्यालरीबाट लोकसभा प्रवेश गरी सङ्घीय सरकारविरुद्ध नाराबाजी गर्दै रङ फ्याँकेपछि संसदभित्र सुरक्षा उल्लङ्घनको विषय उठाउँदै पटक–पटक स्थगन भएपछि सांसदहरूलाई निलम्बन गरिएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुरक्षा उल्लङ्घनको घटना ‘अत्यन्त गम्भीर’ भएको बताउनुभएको छ । सोमबार निलम्बित विपक्षी सांसदहरूले सांसदहरूको निलम्बन फुकुवा गर्न र संघीय गृहमन्त्री अमित शाहले गत हप्ता संसद सुरक्षा उल्लङ्घनको घटनालाई लिएर वक्तव्य जारी गर्न माग गरेका थिए ।    

निलम्बनपछि लोकसभाको नियमित कारबाही दिनभरका लागि स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्