मकवानपुर मनहरीमा हात्तीको आतंक
मकवानपुर,पुस ४ । मकवानपुरको मनहरीमा जंगली हात्तीले आतंक मच्चाएको छ ।
बुधबार बिहान २ बजे मनहरी गाउँपालिका–६ नयाँबस्तीमा जंगली हात्तीले ३ घरमा क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार स्थानीय बुद्धि राईको ब्लकले बनेको जस्ताले छाएको एक तले घरको एक साइडको भित्ता भत्काएको छ भने नारायण श्रेष्ठको घरको सटरमा क्षति पुर्याएको छ ।
यसैगरी नयाँबस्तीकै मंगलसिंह थिङको भान्सामा राखेको एक बोरा धान र एक बोरा चामल खाएको छ । यसअघि सोमबार जंगली हात्तीले मनहरी ८ सिम्पानीका टल्के चेपाङको जस्ता र ढुंगा माटोले बनेको एक तले घर पूर्णरूपमा क्षति पुर्याएको थियो भने रामबहादुर तामाङको गोठ पनि आंशिकरूपमा क्षति पुर्याएको थियो ।
दुवै घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

