मन्त्री फेरेर भए पनि सरकारको कामलाई गति दिन्छु : प्रधानमन्त्री



मोरङ,पुस ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्री फेरेर भए पनि सरकारको कामलाई गति दिने बताएका छन् । जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत शुक्रबार नेकपा (माओवादी केन्द्र) मिक्लाजुङ –५ ले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । 

निरन्तरतामा क्रमभङ्ग गर्ने आफ्नो विशेषता भएको चर्चा गर्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले सरकारले एक वर्ष पूरा गरेपछि नयाँ ढङ्गले अगाडि बढ्ने बताए । “म निरन्तरतामा क्रमभङ्ग गर्छु, सरकारले १० गते एक वर्ष पूरा गर्दैछ । ११ गते बाटै नयाँ ढङ्गले काम सुरू गर्ने तयारीमा छु” प्रधानमन्त्री प्रचण्डले भने ।  

कतिपय मन्त्रालयका मन्त्रीले ठिकसँग काम गर्न नसकेको भन्दै उनले मन्त्री फेरेर कामलाई गति दिने बताए । प्रधानमन्त्रीले स्थानीय जनताको मागबमोजिम सडक तथा खानेपानीका विभिन्न तीन योजनाका लागि तत्काल पहल गर्ने प्रतिबद्धता जनाए । दूध किसानहरूको बक्यौता भुक्तानी चाँडै गर्ने विश्वास पनि उनले दिलाए ।

प्रतिक्रिया दिनुहोस्