वामपन्थी शक्ति एकताबद्ध हुनुपर्छ : अध्यक्ष नेपाल
काठमाडौं,पुस ११ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि वामपन्थी शक्ति एकताबद्ध हुनुपर्ने बताएका छन् । पार्टीको आजदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा उनले लोकतान्त्रिक वाम शक्तिले राजनीतिक स्थिरता कायम गरी मुलुकलाई समाजवादतर्फ अगाडि बढाउन सक्ने बताए ।
राजनीतिलाई विचारहीन, सिद्धान्तहीन र सस्ता नाराको खेल बनाउने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै अध्यक्ष नेपालले समाजवादी कार्यदिशा भएको बलियो लोकतान्त्रिक शक्तिले मात्रै प्रतिगमनवादीलाई हस्तक्षेप गर्न सक्ने बताए । अहिलेको सङ्कटलाई सामना गर्ने वैचारिक सामर्थ्य आफ्नो पार्टीसँग रहेको उनको भनाइ थियो । अध्यक्ष नेपालले भन्नुभयो, “वैचारिक तथा सैद्धान्तिक कार्यदिशा भएको, अहिलेको सङ्कटको वस्तुगत विश्लेषण र समाधानको स्पष्ट बाटो लिएको राजनीतिक शक्ति भएको पार्टी नेकपा एकीकृत समाजवादी नै हो ।”
पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले भूराजनीतिक दबाब बढ्दै गएकाले राष्ट्रिय हितकाविरुद्ध अनेक षडयन्त्र हुनसक्ने खतरा औँल्याए । राष्ट्रिय राजनीतिले एकपछि अर्को प्रतिकूलताको सामना गर्नुपरेकाले आर्थिक क्षेत्रमा समस्या गहिरिँदै गएको उनको भनाइ थियो । भ्रष्टाचार र अनियमितताले सामाजिक मनोविज्ञान बिथोलिँदै गएको बताउँदै अध्यक्ष नेपालले भने, “सही राजनीतिक कार्यदिशाको खाँचो छ ।” उनले विद्रोहबाट जन्मेको आफ्नो पार्टी सङ्गठनात्मकरुपमा विस्तार गर्नुपर्नेमा जोड दिए ।

