जाजरकोटमा चिसोले सुत्केरीको मृत्यु



जाजरकोट,पुस ११ । जाजरकोटको कुशे गाउँपालिका-९ घर्तीगाउँकी २४ वर्षीया कल्पना नेपालीको बुधबार बिहान मृत्यु भएको छ। मङ्सिर १७ गते सुत्केरी भएर दुई छोराको जन्म दिएकी कल्पनाको बास त्रिपालमुनी भएपछि चिसोका कारण मृत्यु भएको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए । 

सुत्केरी कल्पना बिरामी परेपछि स्वास्थ्य चौकी पैकमा लिँदै गर्दा मृत्यु भएको अध्यक्ष बस्नेतले बताए। कात्तिक १७ गते मध्यरात गएको भूकम्पले घर चर्किएपछि त्रिपालमुनी बस्दै आएपछि चिसो छेक्ने न्यानो कपडा नहुँदा, पोषिलो खानेकुरा नपाउँदा कल्पनाको मृत्यु भएको हो। 

भूकम्पले घरवासबिहीन भएपछि पालमुनी रात बिताउने गरेकी कल्पनाले शिशुलाई सेकाउने आगो, पोषण युक्त खानेकुराको अभावका कारण कष्टपूर्ण जीवन बिताउनु परेको थियो। 

सरकारले अस्थायी आवासका लागि घोषण गरेको ५० हजार रुपियाँ मध्य पहिलो किस्ता २५ हजार पाउन नसकेपछि नागरिक त्रिपालमुनी बस्न बाध्य भएका छन्। न्यानो आवास नपाउँदा सुत्केरी, गर्भवती र बालबालिकाको बिचल्ली भएको छ।  समयमा अस्थायी आवासको व्यवस्था नगर्दा सुत्केरीको ज्यान गएको स्थानीयले बताएका छन्। 

प्रतिक्रिया दिनुहोस्