अमेरिका पठाइदिन्छु भन्दै करिब १५ लाख रकम ठगी गर्ने व्यक्ति पक्राउ



काठमाडौँ,पुस १५। अमेरिका पठाइदिन्छु भन्दै १४ लाख ९० हजार रूपैयाँ ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक बनेपा नगरपालिका ४ का ४६ वर्षीया पार्वती थापालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

थापाले १ जनालाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाई प्रतिष्ठित कम्पनीमा मासिक ३ लाख ५० हजार रूपैयाँ भन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं समाखुसीबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्