अङ्ग्रेजी नयाँ वर्ष मनाउन सौराहमा पर्यटकको घुइँचो, ‘पर्यटन आगमन पूर्ववत् अवस्थामा’



चितवन,पुस १६ । जिल्लाको सौराहामा अङ्ग्रेजी नयाँ वर्ष मनाउनेको भीड बढेको छ । नयाँ वर्षको अघिल्लो दिन सरकारी बिदासमेत परेकाले आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो । सौराहा आएका पर्यटक निकुञ्जमा हुने पर्यटकीय गतिविधिमा रमाउने गर्दछन् । पर्यटकको रोजाइमा विशेष गरी हात्ती, जीप, डुङ्गा सफारी हुने गरेको छ । 

क्षेत्रीय होटल सङ्घका उपाध्यक्ष ओमप्रकाश पाण्डेले गत सेप्टेम्बरमा पर्यटकको राम्रो आगमन भएको बताए । उनले भने, ‘विगत केही दिनयता सौराहाका होटलमा पर्यटकको ‘अकुपेन्सी’ राम्रो छ ।’ पाण्डेको ल्याण्डमार्क फरेष्ट पार्कमा मात्रै ७५ प्रतिशत रहेको बताए ।  

सौराहमा यतिबेला आन्तरिक पर्यटकसँगै भारतीय र चिनियाँ पर्यटकको उपस्थिति पनि राम्रो रहेको उनले बताए । सङ्घका महासचिव गुणराज थपलियाले शनिवार सबै कोठा भरिएको र आइतवार अकुपेन्सी शतप्रतिशत पुग्ने अनुमान गरिएको बताए । 

युनिक वाइल्ड रिसोर्टका सञ्चालक थपलियाका अनुसार उनको होटलमा रहेका ३० वटा कोठा जनवरी ४ तारिखसम्मका लागि शतप्रतिशत बुकिङ भएका छन् । 

सङ्घका निवर्तमान अध्यक्ष दीपक भट्टराईका अनुसार सौराहामा एक सय ६० हाराहारी होटल छन् । ती होटलमा सात हजार जनालाई एकै साथ सेवा दिनसक्ने क्षमता छ । होमस्टेसहित गणना गर्दा सौराहामा १० हजारभन्दा बढीले एक रात बस्न सक्छन् । आइतवार सबै होटल र होमस्टे भरिने अनुमान गरिएको उनले बताए । 

सौराहामा आएका पर्यटक कुमरोज र कुचकुचे सामुदायिक वनमा जिप सफारी गर्न जान्छन् । यससँगै चितवन राष्ट्रिय निकुञ्जभित्र पनि जिप सफारी हुन्छ । भट्टराईका अनुसार सामुदायिक वनमा मात्रै दैनिक एक सय हाराहारी जिप सफारी भइरहेको छ । ती जिपमा पर्यटकले पालो कुर्नुपर्ने अवस्था छ । 

निकुञ्जभित्र सौराहातर्फबाट ३२ वटा जिपले अनुमति पाएका छन् । यस्तै कसराबाट २० वटा, मेघौलीबाट नौ वटा, माडीबाट एउटा, नवलपरासीको अमलटारीबाट ६ वटा र कुजौलीबाट दुई वटा जिपले जंगल सफारीको अनुमति लिएका छन् । 

सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरे यो याममा पूर्ववत् अवस्थामा पर्यटकको आगमन भएको बताए । उनका अनुसार कोभिडअघिको अवस्थामा जस्तै गरी अहिले पर्यटक आएका छन् । जाडो मौसममा पर्यटकले यहाँ घुम्न रुचाउँछन् । आउँदा दिनका लागि बुकिङ राम्रो छ । उनले भने, ‘अब हामीलाई आशावादी बनाएको छ ।’ 

सौराहामा पर्यटक बढ्दै गर्दा रेष्टुराँमा पनि पर्यटक भरिएका छन् । रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेवान) का निवर्तमान अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार सौराहाका रेष्टुराँमा पर्यटकको राम्रो उपस्थिति छ । दशैंपछि पर्यटकको राम्रो चहलपहल भएको उनले बताए । 

युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष समेत रहेका खतिवडाका अनुसार अहिले आफूहरूसँग भएका ३० वटा हात्तीले दैनिक तीन पटक पर्यटक घुमाइरहेका छन् । यद्यपि कतिपयले हात्ती चढ्ने पालोसमेत पाउन सकेका छैनन् । उनका अनुसार राति सौराहामै बसेका पर्यटकले पालो मिलाएर हात्ती चढेको भए पनि हात्ती मात्रै चढ्नका लागि सौराहा पुगेका कतिपयले हात्ती चढ्न पाएका छैनन् । 

सौराहासँगै पटिहानी, जगतपुर, मेघौली क्षेत्रमा पनि पर्यटकको राम्रो उपस्थिति छ । तेस्रो मुलुकका पर्यटक यतिबेला नयाँ वर्ष र क्रिसमस मनाउन घर जाने भएकाले भारतीय र चिनियाँ पर्यटकको राम्रो उपस्थिति छ । 

पटिहानीको जङ्गल भिल्लाका सञ्चालक गणेश पौडेलले पर्यटकको उपस्थिति राम्रो रहेको बताए । पूर्ववत् अवस्थामा पर्यटक फर्किने अनुमान गरिएको उनको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्