नुवाकोटको सुर्यचौरमा प्याराग्लाइडिङ पुन: सञ्चालनको तयारी



नुवाकोट,पुस १८ । नेपाल नागरिक उड्‍डयन प्राधिकरण (क्यान)बाट अनुमति पाएर पनि स्थगित जिल्ला स्थित शिवपुरी गाउँपालिका सुर्यचौरको प्याराग्लाइडिङ पुनः सञ्चालनमा आउने भएको छ । २०७७ साल वैशाख १ बाट उडान सुरु गरेको प्याराग्लाडिङ कोरोना, चुनाव, आर्थिक मन्दी तथा विविध कारणवस २ वर्ष बढी रोकिएको थियोे ।

छ जना पाइलट संख्या रहेको नेपाल प्याराग्लाइडिङ कम्पनीले त्यसताका सुर्यचौरदेखि डेस्टिनेशन थान्सिङ फाट सम्म एकैदिन २० देखि २२ जनासम्म अवतरण गर्ने गरेको थियो । प्राविधिक तथा स्थानीय स्तरमा आवश्यक सुविधा उपलब्ध हुन नसके तापनि आउँदो माघ महिनादेखि उडान सुचारु गर्न लागिएको कम्पनीका सदस्य उमेश बजगाईले जानकारी दिए ।

‘उडान सुरक्षालाई उच्च प्राथमिकता दिई फर्स्ट कम फर्स्ट सर्भिस तथा प्राधिकरणबाट प्रदान गरिएको अधिकार क्षेत्रभित्र रहि सुरक्षित स्लट र तालिका व्यवस्थापन गरेपनि स्थानीय स्तरका बाटो निर्माण, निकुञ्ज प्रवेश शुल्क जस्ता कुरामा सरकारले चासो राख्नुपर्ने उनले बताए ।

भञ्ज्याङ् देखि सुइँरेचौर क्षेत्र सम्म अप्ठ्यारो साघुरो बाटो तत्काल निकुञ्जसग समन्वय गरी स्थानीय सरकारले कालोपत्रे गर्न सकेको खण्डमा पर्यटन विकाससंगै आर्थिक आयआर्जनमा गतिलो टेवा मिल्ने देखिन्छ । तर स्थानीय सरकारले यसप्रति कुनै चासो राखेको देखिदैन। कम्पनीले माघदेखि भने आफ्नो योजनामा घाटानाफा जेजस्तो भएपनि कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । प्याराग्लाइडिङ उडानबाट नुवाकोटको पूर्वी भेग, सिन्धुपाल्चोक, काठमाडौं, रसुवाको मनोरम दृश्यका साथै लाङटाङ, गणेश, मनास्लु, जुगल, हेलम्बु हिमालसम्मको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्