नुवाकोट शिवपुरी वृद्धा हत्यामा संलग्न एक युवक पक्राउ



नुवाकोट,पुस १९ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६ बखती टोल (खत्री गाउँ) की वृद्धा हत्यामा संलग्न एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

गत सोमबार स्थानीय ७५ वर्षीया नेत्रकुमारी घर्ती क्षेत्रीको राती अन्दाजी १० बजे घरसंगैको बाख्राको खोरमा हत्या भएको थियोे ।

हत्यामा संलग्न अभियुक्त शिवपुरी गाउँपालिका वडा नम्बर ६ साल्मेटार बस्ने वर्ष २२ का सुकु तामाङलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको हो । अनुसन्धानका क्रममा अभियुक्तले वृद्धाको हत्या पश्चात् काठमाडौं पुगी लुटपाट गरिएको नगद ८३ हजार, कानको बेरुवा १ जोडी, सानो तिलहरि १ थान बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ६को च्यासिङ जङ्गलमा गाडेको खुल्न आएको छ ।

अभियुक्त तामाङ बुधबार साल्मेटार घर फर्की लुकिछिपी बसेको अवस्थामा सुराक गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्रबहादुर खड्काले बताए ।

अभियुक्तलाई मुलुकी ऐन अपराध संहिता २०७४ बमोजिम ज्यान तथा लुटपाट कसुरमा म्याद थपसहित जिल्ला अदालत पेश गरि अनुसन्धान बढाइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्