शिवपुरी वृद्धा हत्या प्रकरण: गाँजा किन्ने पैसा नभएपछि हत्या भएको पुष्टि



नुवाकोट,पुस २० । जिल्लाको शिवपुरी गाउँपालिका–६ खत्रीटोल निवासी वर्ष ७५ की नेत्रकुमारी खत्रीको सोमबार राती बीभत्स हत्या भयो । हत्या गरेर फरार रहेका सोही स्थानका सुकु तामाङलाई प्रहरीले पक्राउ भने गरिसकेको छ ।

हत्यामा संलग्न २२ वर्षीय तामाङलाई तालिमप्राप्त कुकुरको सहायताले लुकिरहेको अवस्थामा निजकै घरबाट बिहीबार पक्राउ गरेको हो । अनुसन्धानको क्रममा ‘लामो समयदेखि लागूऔषध दुर्व्यसनीमा संलग्न तामाङले गाँजा खरिदका लागि पैसा अभाव भएपछि वृद्धासँग भएको नगद र गरगहना चोर्ने क्रममा हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) संजयसिंह थापाले बताए ।

थापाका अनुसार वृद्धासँग लुटेको नगद र लगाएको गरगहना प्रहरीले बरामद गरिसकेको छ । वृद्धाको हत्यापश्चात् लुटिएको ८३ हजार रुपैयाँ, उनले लगाएको सुनको एकजोडी बेरुवा र एकथान तिलहरी अभियुक्तले दिएको सूचनाका अधारमा काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–६ च्यासिङटोलको जंगलबाट प्रहरीले बरामद गरेको हो । 

घटनापछि तालिमप्राप्त कुकुरको सहयोगले चार दिनपछि अभियुक्त पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।जिल्लाकै पञ्चकन्या गाउँपालिकामा समेत गत असोजमा यस्तै प्रकृतिको घटना भएको थियोे । पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ तीनघरेमा करिव दश वर्षदेखि एक्लै बस्दै आएकी ७१ वर्षीया नुरकुमारी थापाको हत्याको घटना सार्वजनिक भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्