चाकुको बास्नाले सुगन्धित ‘टोखाबजार’



काठमाडौं,पुस २० । माघेसङ्क्रान्ति पर्व नजिकिँदै गर्दा ऐतिहासिक, धार्मिक र पुरातात्त्विक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखाबजारमा चाकुको बास्ना आउन थालेको छ । विशेष गरी नेवार समुदायमा माघेसङ्क्रान्ति पर्वमा चाकु खाने प्रचलन छ । टोखा नेवार समुदायको मुख्य बस्ती रहेको सहर हो ।

यो सहरमा काठमाडौँका अन्यत्रको तुलनामा माघे सङ्क्रान्तिका लागि चाकु बढी उत्पादन हुने गर्छ । माघे सङ्क्रान्ति पर्व आउन दश दिन बाँकी रहँदा यहाँका उद्यमीलाई चाकु बनाउन भ्याइनभ्याइ देखिन्छ । टोखा नगरपालिका वडा नम्बर २ र ३ मा चाकु उत्पादन गर्ने १४ उद्योग छन् । ती उद्योग वरिपरि यतिबेला मानिसहरूको चहलपहल पनि बढेको देखिएको छ । टोखाबासी मात्रै नभई काठमाडौँका अधिकांश पसलेले पनि यहीँबाट चाकु लगी बिक्री गर्ने भएकाले उनीहरूको पनि बाक्लो उपस्थिति देखिन थालेको छ । अहिले नै चाकु किन्ने नभई खरिदका लागि ‘बुकिङ’ गर्न उनीहरू त्यहाँ पुगेका पाइएको छ ।

टोखाको चाकु काठमाडौँका असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका बाहिरको नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायतका सहरमा पनि बिक्री हुँदै आएको छ । टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्ण श्रेष्ठ मङ्सिर र पुसमा यहाँका उद्योगीलाई चाकु बनाउन भ्याइनभ्याइ हुने गरेको बताउछन् । “टोखाका चाकु उद्योगीहरूले वार्षिक २५ देखि ३० लाख मूल्य बराबरको चाकु र उखुबाट बन्ने विभिन्न परिकारहरू बिक्रीवितरण गर्दै आएका छन्”, उनले भने ।

नेवारी भाषामा ‘टु’ को अर्थ उखु, ‘ख्यः’ को अर्थ ‘फल्ने ठाउँ’ हो । टोखा उखुखेती तथा चाकु उत्पादनका लागि प्रसिद्ध ठाउँ हो । अध्यक्ष श्रेष्ठ टोखामा परम्परादेखि नै उखुखेती हुने र उक्त उखुबाट चाकुलगायत विभिन्न परिकार बनाइने भएकाले पनि टोखाको चाकुको महत्त्व देश र विदेशमा रहेको बताउछन् । नेवारी भाषामा ‘टु’ र ‘ख्यः’ भन्दाभन्दै उक्त शब्द अपभ्रंश हुँदै ‘टोखा’ हुन गएको मानिन्छ । 

टोखा नगरपालिकाको नामकरणसमेत टोखा बजारबाट भएको हो । टोखा नगरपालिकालेसमेत टोखाको चाकु संरक्षणमा काम गरिरहेको छ । टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारी टोखाको चाकु संरक्षणका लागि टोखाले चाकु उत्पादनसम्बन्धी तालिम तथा उखु क्षेत्रको भ्रमणसमेत गरेको बताउछन् । टोखा नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा टोखाको चाकु अन्तर्राष्ट्रिय स्तरमा ‘ब्रान्डिङ’ गर्ने घोषणा गरेको उनको भनाइ छ ।

अहिले टोखामा उखुखेती हराउँदै गएको छ । टोखामा उत्पादन हुने चाकुका लागि आवश्यक पर्ने सख्खर तराईका विभिन्न जिल्ला र गुल्मीबाट आउने गरेको छ । टोखाको चाकु संरक्षणका लागि टोखा परम्परागत चाकु संरक्षण समाजले नगरपालिकाबाट दिएको दुई लाख ५० हजार अनुदानले तराई र गुल्मीको उखु निरीक्षणका लागि खर्च गरेको समाजका अध्यक्ष श्रेष्ठले बताए । सो समाजले गुल्मीको छत्रबास गाउँपालिकासँग भगिनी सम्बन्धसमेत स्थापित गरेको छ । गुल्मीको छत्रबास गाउँपालिका उखुका लागि प्रख्यात क्षेत्र हो । 

प्रतिक्रिया दिनुहोस्