बरहथवा घटनाप्रति कांग्रेसको ध्यानाकर्षण



काठमाडौं,पुस २१ । नेपाली कांग्रेसले सर्लाहीको बरहथवामा प्रदर्शनका क्रममा प्रहरीको गोली लागी एक युवाको निधन भएकोमा गम्भीर ध्यानाकृष्ट भएको जनाएको छ ।

शुक्रबार दिउँसो बरथवास्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको विषयलाई लिएर भएको प्रदर्शका क्रममा सुरक्षाकर्मीको गोली लागी स्थानीय युवा जयशङ्कर साहको मृत्यु भएको थियो ।

आज (शनिबार) कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकृष्ट भएको बताए । साथै उक्त घटनाप्रति दुःख व्यक्त गर्दै कांग्रेसले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेको छ ।

घटनाको सत्य–तथ्य अध्ययन गरी यथार्थ छानबिन गर्नुका साथै घटनामा घाइते भएकाहरुको उपचार गर्न र प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न सरकारसँग कांग्रेस माग गर्दछ ।

प्रतिक्रिया दिनुहोस्