वार्षिक कार्ययोजना पारित गर्दै उपत्यका विशेष बैठक सम्पन्न
काठमाडौं,पुस २१ । नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीको प्रथम बैठक सम्पन्न भएको छ । पार्टीका पोलिटब्युरो सदस्य तथा उपत्यका विशेष प्रदेश कमिटी इन्चार्ज सुजिता शाक्यको प्रमुख आतिथ्य र विशेष प्रदेश कमिटी अध्यक्ष प्रेमकुमार पराजुलीको अध्यक्षतामा भएको कार्यक्रम शुक्रबार सम्पन्न भएको हो ।
बैठकले प्रदेश कमिटीमा १२ जना सदस्य मनोनीत गरेको छ । पदाधिकारी, विभाग प्रमुख र जिल्ला इन्चार्जसमेत गरी १७ सदस्यीय सचिवालय र सल्लाहकार परिषद् पनि गठन गरेको छ । त्यसैगरी बैठकले वार्षिक कार्ययोजना पारित गरेको छ । प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरूको कार्य विभाजन पनि गरेको छ । यस क्रममा नौवटा विभाग गठन गर्नुका साथै एउटा कार्यदल बनाएको छ ।
वार्षिक कार्ययोजना अन्तर्गत जिल्ला कमिटी र इलाका कमिटीका अधिवेशनहरू सम्पन्न गर्ने, प्रदेश र इलाका स्तरमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, मासिकरूपमा अन्तर्क्रिया आयोजना गर्ने लगायत छन् । बैठकले विभिन्न समसामयिक प्रस्तावहरू पारित गर्दै निजामती सेवा ऐन तत्काल जारी गर्न माग गरेको छ । ललितपुरको बालकुमारीमा दुई युवकको ज्यान जानेगरी राज्य पक्षबाट भएको गोली प्रहारको निन्दा र भर्त्सना गरेको छ । बैठकले राज्यलाई हानी नोक्सानी गर्नेगरी भएको भनिएको एनसेल विक्री प्रकरणको पनि विरोध गरेको छ ।
बैठकमा पोलिटब्युरो सदस्य तथा उपत्यका विशेष प्रदेश कमिटी इन्चार्ज सुजिता शाक्यले कमिटीको कामलाई प्रभावकारी रूपमा सञ्चालन गर्न निर्देशन दिइन । इन्चार्ज शाक्यले उपत्यकामा विभिन्न पेसा व्यवसायमा रहेका पार्टी सदस्यहरूको कमिटी विशेष प्रदेश कमिटीको मिसन–२०८४ सफल पार्न विशेष भूमिका हुनेतर्फ ध्यानाकर्षण गराएकी थिइन ।
पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला कमिटी इन्चार्जहरू बिना श्रेष्ठ, गोविन्द दुवाल, सीता लामा र बालिका गिरी अतिथिका रूपमा उपस्थिति रहेको बैठकमा प्रदेश कमिटीका अध्यक्ष प्रेमकुमार पराजुलीले प्रदेश कमिटीमा मनोनयन, सदस्यहरूको कार्य विभाजनलगायत छलफलका विषय सूचि प्रस्तुत गरेका थिए। सचिव मिलन धरेलले बैठक सञ्चालनका साथै सांगठानिक कार्ययोजना प्रस्तुत गरेका थिए ।