बंगलादेशको संसदीय निर्वाचन : प्रधानमन्त्री हसीनाको पार्टीले जित्यो २९८ मध्ये २२२ सिट



ढाका (बंगलादेश),पुस २४ । बंगलादेशको संसदीय निर्वाचनमा प्रधानमन्त्री शेख हसीनाको पार्टी अवामी लिगले २२२ स्थानमा जित हासिल गरेको छ । 

त्यहाँको समाचार संस्था ‘द डेली स्टार’का अनुसार ३०० सिट रहेको बंगलादेशको संसदमा २९८ को नतिजा आउँदा ६२ स्थानमा स्वतन्त्र उम्मेदवारहरू विजयी भएका छन् । यस्तै, ११ स्थानमा जनता पार्टी र १–१ स्थानमा जातीय समाजतान्त्रिक दल, बंगलादेश वकर्स पार्टी र बंगलादेश कल्याण पार्टीका उम्मेदवारले हासिल गरेका छन् । 

बाँकी २ सिटमध्ये एक निर्वाचन क्षेत्रको नतिजा पछि सार्वजनिक गरिने र एक क्षेत्रको उम्मेदवारको मृत्यु भएको निर्वाचन स्थगित गरिएको मुख्य निर्वाचन आयुक्त काजी हबिबुल अवलले जानकारी दिए । उनका अनुसार नौगाउ–२ क्षेत्रको उम्मेदवारको मृत्यु भएपछि मतदात स्थगित भएको छ । यस्तै, मयमनसिंह–३ क्षेत्रको एक केन्द्रमा मतदान रोकिएकाले यसको नतिजा पछि सार्वजनिक गरिने उनले बताए । 

राजधानी ढाकामा सोमवार आयोजित पत्रकार सम्मेलनमा मुख्य निर्वाचन आयुक्त अवलले निर्वाचनमा ४१.८ प्रतिशत मतदान भएको जानकारी दिए ।

आइतवार सम्पन्न निर्वाचन मुख्य विपक्षी बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)ले बहिष्कार गरेको थियो । उसले चुनावलाई ‘धोका’ भन्दै आएको छ । मुख्य विपक्षीको बहिष्कारका कारण मतदानमा कम सहभागिता देखिएको बताइएको छ ।

स्वतन्त्र र निष्पक्षरूपमा सफलतापूर्वक निर्वाचन सम्पन्न गर्ने उदाहरण प्रस्तुत : प्रधानमन्त्री

प्रधानमन्त्री तथा बंगलादेश अवामी लिगकी अध्यक्ष हसीनाले हिजो भएको आम निर्वाचनमार्फत बंगलादेशले स्वतन्त्र र निष्पक्षरूपमा सफलतापूर्वक निर्वाचन सम्पन्न गर्ने उदाहरण प्रस्तुत गरेको बताएकी छन् । 

‘हाम्रो देशमा जनताले कसरी भोट दिन्छन्, त्यो तपाईंहरू आएर देख्नुभएको छ । हामीले निर्वाचन स्वतन्त्र, निष्पक्ष र तटस्थ हुनसक्ने उदाहरण बसाएका छौं,’ राजधानी ढाकास्थित गोनो भवन कम्प्लेक्समा स्वदेशी तथा विदेशी पत्रकार तथा निर्वाचन पर्यवेक्षकसँग विचार आदानप्रदान गर्दै उनले भनिन् । 

उनले यस निर्वाचनमा जनताले आफ्नो पार्टीलाई भोट दिएर चुनेको बताइन् । साथै धेरै स्वतन्त्र उम्मेदवार र अन्य दलका केही दावेदार पनि निर्वाचित भएको उनले बताइन् । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्