क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय
काठमाडौं,पुस २५ । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकेको छ । १३ पुसमा बलात्कार मुद्दामा दोषी ठहर भएका लामिछानेलाई सजाय भने आज तोकिएको हो ।
न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश पनि गरेको हो ।
लामिछाने पुष १३ गते जिल्ला अदालतबाट दोषी ठहर भएका थिए । न्यायाधीश शिशिरराज ढकालको इजलासले नै उनलाई दोषी ठहर गरेको थियो । तर त्यतिबेला ३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले आजका लागि सुनुवाई तोकिएको थियो ।
सन्दीपविरूद्ध २०७९ भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् । सन्दीपले २०७९ भदौ ५ गते आफूलाई होटलमा लगेर जबरजस्ती करणी गरेको गौशाला २६ अर्थात पीडित किशोरीको आरोप थियो । प्रहरीमा जाहेरी दर्ता हुँदा सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्ने क्रममा वेस्ट इन्डिजमा थिए ।