भुटानको संसदीय चुनावमा पूर्वप्रधानमन्त्री टोबगेको दललाई बहुमत, ४७ मध्ये ३० सिटमा विजयी



थिम्पु (भुटान),पुस २६ । भुटानको संसदीय चुनावमा पूर्वप्रधानमन्त्री त्शेरिङ टोबगेको दल पिपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी)ले बहुमत हासिल गरेको छ । 

भुटान ब्रोडकास्टिङ सर्भिसका अनुसार पीडीपीले नेशनल एसेम्बलीका ४७ सिटमध्ये ३० मा जित हासिल गरेको छ ।बाँकी १७ सिटमा भने भुटान टेंड्रेल पार्टीका उम्मेदवार विजयी भएका छन् । भुटानको चुनाव आयोगले बुधवार यसको आधिकारिक घोषणा गर्ने बताइएको छ । 

सन् २००८ मा संसदीय व्यवस्थामा गएपछि भुटानको यो चौथो आमनिर्वाचन हो । पीडीपीको बहुमतसँगै ५८ वर्षीय टोबगे दोस्रो पटक प्रधानमन्त्री बन्ने अनुमान गरिएको छ । उनी सन् २००८ पछिको पहिलो संसदमा विपक्षी दलका नेता थिए । उनले भुटानको अभूतपूर्व आर्थिक चुनौती तथा ठूलो मात्रामा पलायनबारे आवाज उठाएका थिए । 

राजधानी थिम्पु नजिकैको पुनाखाका ४८ वर्षीय कर्माले समाचार एजेन्सी रोयटर्सलाई भने, ‘भुटानी जनता देशको आर्थिक विकास तथा आफ्नो विकास चाहान्छन् ।’ 

‘धेरै मानिस बेरोजगार छन् । जोसँग जागिर छ उनीहरूले पाउने तलब पनि परिवारको विकासका लागि पर्याप्त छैन,’ उनले थपे । आर्थिक तथा शैक्षिक अवसर खोजिरहेका युवा पछिल्लो चुनावपछि अष्ट्रेलिया गएका छन्, उनीहरूको मुख्य वैदेशिक गन्तव्य पनि अष्ट्रेलिया हो । 

स्थानीय समाचार संस्थाको एक रिपोर्ट अनुसार २०२२ जुलाईभन्दा १२ महीनाअघि करीब १५ हजार भुटानीको भिसा जारी भएको छ । यो संख्या पछिल्लो ६ वर्षयताकै अधिक हो । अलजजिरा

प्रतिक्रिया दिनुहोस्