नुवाकोट शिवपुरीको ‘खोलेगाउँ महोत्सव’ को आकर्षण गुन्द्रुक, बेसार र भीर मौरीको मह हुने



नुवाकोट, पुस २६ । यही पुस २९ र माघ १ गते हुने शिवपुरीको ‘खोलेगाउँ महोत्सव’ को आकर्षण गुन्द्रुक, बेसार र भीर मौरीको मह हुने भएको छ ।

स्थानीय उत्पादनलाई बजारीकरण गर्ने उदेश्यले हुन लागेको दुई दिने महोत्सवमा स्थानीय गुन्द्रुक, बेसार र भीर माहुरीको महको अलावा तरुल, लोकल कुखुरा, लोकल दही, दुध, घिउ समेत प्रदर्शनी स्टलमा राखिने वडा नम्बर ६ का जनप्रतिनिधि कमल लामा(नुवाकोटे टाइगर) ले जानकारी दिए ।

महोत्सवमा विभिन्न सांगीतिक कार्यक्रम, रमाइलो मेला, स्थानीय उत्पादन र आयातीत वस्तुका स्टल, रेस्टुरेन्ट सञ्चालन हुनेछन्। 

महोत्सवमा चर्चित गायिका शान्ति श्री परियार, लोक गायक प्रनिल तामाङ, हास्य कलाकार जीवन तामाङ लगायतको प्रस्तुति रहनेछ । आयोजक शिवपुरी गाउँपालिका वडा नम्बर ६ ले स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर महोत्सवको मुख्य ठाउँमा ‘मेड इन शिवपुरी’ नाम दिएर स्थानीय स्तरमा उत्पादित डोको, डालो, मान्द्रो, भकारी तथा हसिया, खुर्पा कोदालो, कोदाली समेत सुपथ मूल्यमा बिक्री कक्ष निर्धारण गरिनेछ ।

त्यस्तै स्टलमा स्थानीय उत्पादनको रूपमा राखिएको मकैको पिठो, कोदाको पिठोलगायतका वस्तुहरू महोत्सवको मुख्य आकर्षणको रुपमा रहनेछ । 

प्रतिक्रिया दिनुहोस्