रामबहादुर बम्जनलाई लगाएको आरोप झुठो सावित होस्- हितबहादुर तामाङ



काठमाडौं,पुस २७ । नेकपा माओवादीका नेता एवं नुवाकोटका संघीय सांसद हितवहादुर तामाङले विवादित रामबहादुर बम्जनबारे आफ्नो धारणा व्यक्त गरेका छन् ।

सांसद तामाङले बिहिवार सामाजिक संजाल फेसबुक मार्फत विवादित बम्जनबारे आफ्नो धारणा व्यक्त गरेका हुन । सांसद तामाङले हत्या, बालात्कार  र बेपत्ता वनाईयो भन्ने आफूलाई नलागेको बताउदै घटनालाई सामान्य नभई असाधारण भएको उल्लेख गरेका छन् । बम्जनबाट नुवाकोटकै एक तामाङ चेली गायव बनाइएको विषयमा भने सांसद तामाङले  केहि पनि उल्लेख गरेका छैनन् ।

सांसद तामाङ भन्छन् – ‘बम्जन प्रकरणलाई सामान्य तरिकाले टिप्पणी नगर्न वा पक्ष वा विपक्षमा उत्तेजित नहुन सम्बन्धित सबै पक्षलाई अनुरोध गर्छु। सकभर बम्जनलाई लगाएको यो आरोप झुठो सावित होस् ।’

उनको फेसबुक स्ट्याटस जस्ताको तस्तै यहाँ प्रस्तुत गरिएको छ :-

२०८०/०९/२६

हिजो र आज सामाजिक सञ्जाल एवम् सञ्चारका माध्यमहरुमा तपस्वी रामलाल बम्जनको बारेमा ठुलै बहस भैरहेको छ ।

२०७७ साल असार २१ गते सर्लाही जिल्ला अदालतले व्यक्ति हत्या , बेपत्ता र बलात्कारको आरोपमा बम्जनलाई पक्राउ पुर्जी जारी गरेको तथा प्रहरीले लामो समयदेखि उनको पक्राउको लागि खोजी कार्य गर्दै आइरहेको थियो भनिएको छ । यही क्रममा अस्ति पौष २४ गते प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (CIB) ले काठमाडौको बुढानिलकण्ठ -६ स्थित उनको आफ्नै निवासबाट बम्जनलाई पक्राउ गरेको र सर्लाही जिल्ला पठाइए पछि आजै २६ गते अदालतले थुनामा पठाउने आदेश गरेको प्रचारमा आइरहेको छ।

यस बीचमा तपस्वी जस्तो धर्मावलम्बी र साधुबाट यस्तो गल्ती असम्भव प्रायः रहेको र गिरफ्तार गर्न सर्वथा नहुने भन्दै उत्तेजनात्मक अभिव्यक्तिहरु पनि सार्वजनिक भइरहेका छन् भने कतिपय व्यक्तिहरुले तामाङ समुदायलाई क्रिश्चियन बन्नबाट रोक्ने काममा बम्जन बाधक रहेकोले पश्चिमी मुलुकहरुको षड्यन्त्रमा बम्जनलाई फसाइएको पनि भनिरहेका छन् ।

तामाङ समुदायलाई क्रिश्चियन बन्नबाट बम्जनको भूमिकाले बाधा गरेको भन्ने विषयमा कति सत्यता छ वा छैन भन्ने कुरा थप खोज, अनुसन्धान र अध्ययन हुन जरुरी छ।

जहाँसम्म व्यक्ति हत्या , बेपत्ता र बलात्कारको आरोप छ, त्यसबारेमा बम्जनबाट नहुनुपर्ने हो भन्ने मलाई पनि लाग्छ र नहोस् भनी कामना गर्दछु । तर सत्य असत्य जे भएपनि कोही कसैले आरोप लगाई जाहेरी दिइसकेपछि र उनलाई पक्राउको लागि अदालतले पुर्जीनै जारी गरिसके पछि प्रहरीले पक्राउ गर्ने कुरालाई अन्यथा सोच्नु पनि हुदैन ।

जसले उनलाई मुद्दा दायर गरेको भनिएको छ, उहाँहरु साच्चिकै पीडित हुनुहुन्छ भने ती पीडितहरुले पनि न्याय पाउनुपर्ने कुरालाई नजरअन्दाज गर्न कुनै व्यक्ति र निकायलाई छुट पनि हुदैन ।

बम्जनबाट त्यस प्रकारका अपराध सम्भव नभएपनि उनलाई फसाउने उदेश्यले उनका नक्कली अनुयायीहरुले त्यस प्रकारका अपराधिक घटना घटाएर यस प्रकारको अवस्था सिर्जना गरेको पनि हुन सक्छ नि होइनर? । अथवा उनलाई गलत आरोप लगाएर कुनै सम्प्रदाय वा शक्ति केन्द्रले आफ्नो गलत उदेश्य पूरा गर्नका लागि षड्यन्त्र स्वरुप यो अवस्था सिर्जना गर्न पनि असम्भव छैन।

त्यसैले म के भन्छु भने यो बम्जन प्रकरण सामान्य छैन असाधारण छ।

तपस्वी जस्तो पात्राबाट त्यस प्रकारको घटना वा अपराध भएको रहेछ भने यो पनि असाधारण नै मान्नुपर्छ , होइन उनलाई गलत सावित गर्न कोही कसैले गलत हर्कत वा षड्यन्त्र गरेको रहेछ भने त्यो पनि सामान्य हुन सक्दैन ,यो गम्भीर प्रकारको अपराधिक षड्यन्त्र हुनेछ ।

त्यसैले बम्जन प्रकरणलाई सामान्य तरिकाले टिप्पणी नगर्न वा पक्ष वा विपक्षमा उत्तेजित नहुन सम्बन्धित सबै पक्षलाई अनुरोध गर्छु।

सकभर बम्जनलाई लगाएको यो आरोप झुठो सावित होस् ।

कुनै पनि साधु, साधक वा महात्मालाई आफुलाई सही सावित गर्न सजिलो पनि छैन । सामान्य प्रक्रियाबाट सम्भव भएको कही कतै देखिएको छैन । यो आरोप झुठो सावित भयो भने बम्जन र उनका अनुयायीहरुले गर्व गर्ने अवसर प्राप्त हुने छ । बम्जन भट्टीमा खारिएको नमेबरी सुन जस्तो हुनेछ। बम्जन आजको २१ओँ शताब्दीको साच्चिकै महान तपस्वी सावित हुने छ । नेपालको समृद्धिको लागि पर्यटक भित्र्याउने एउटा महत्त्वपूर्ण निधि बन्ने छ।

यस कारण उनका अनुयायी र भक्तजनहरु उत्तेजित नहुन र अनुसन्धान अधिकारीहरु र सरकार पक्षले पनि यो घटना अनुसन्धान गर्ने कुरालाई लापरबाही गर्न एवम् सामान्य नजरले हेर्ने कमजोरी नगरोस् । यदि दुई मध्य एक पक्षबाट कमजोरी हुन गयो भने यसको परिणाम हामीले सोचे जस्तो मात्रै नहुन सक्छ । धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्