नागढुङ्गा सुरुङमार्ग : अवरोध छिचोल्दै दुई महीनाभित्र ‘ब्रेक थ्रु’को तयारी



कीर्तिपुर,पुस २७ । नागढुङ्गा सुरुङमार्गको मुख्य सुरुङ खन्न मात्र ७३.६० मिटर मात्र बाँकी छ । वैकल्पिक सुरुङ ‘इभ्याकुएसन टनेल’ गत साउन २२ गते नै ‘ब्रेक थ्रु’ भइसकेको छ । सुरुङभित्रको ‘कङ्क्रिट’को काम पनि ५१ प्रतिशत सकिएको छ । यो काम सकिएपछि सुरुङमार्गभित्र अक्सिजन, बत्ती र सञ्चारलगायत अत्यावश्यक सेवा (टनेल फ्यासिलिटी) पुर्‍याउन बाँकी छ । 

सुरुङ मार्गमा भौतिक निर्माण पूरा गरिसकेपछि सवारीसाधन सञ्चालन गर्न एक सय जनाको जनशक्तिले निरन्तर काम गर्नुपर्ने परियोजनाको परामर्श दातृ संस्था निप्पन कोइका इञ्जिनियर रमेशप्रसाद कोइराला बताउँछन् । यसबाहेक केही अवरोधलाई छिचोल्न सके आगामी वर्षभित्र यो मार्ग पूर्णरूपमा सञ्चालन हुनेछ । 

सुरुङमार्ग सञ्चालनमा आएपछि त्रिभुवन राजपथ नागढुङ्गा बलम्बुसम्मको दूरी तीन किलोमिटरले कम हुनेछ । सडकको दूरी तीन किलोमिटरले मात्र कम भए पनि सुरुङमार्गको पश्चिमी प्रवेश विन्दुदेखि नागढुङ्गासम्मको उकालो र त्यहाँ हुने ट्राफिक जामलाई दृष्टिगत गरी एक व्यक्तिको झन्डै आधाघन्टा समय बचत हुने कोइराला बताउँछन् । 

यसले यसअघि अनुभव नभएको यातायातका लागि सुरुङमार्ग बनाउने राष्ट्रिय क्षमता वृद्धि गर्नुका साथै प्रविधि हस्तान्तरणमा सहयोग पुग्ने कोइराला बताउँछन् ।

अक्सिजनदेखि एफएम सिग्नलसम्म  

सुरुङमार्गमा अक्सिजनको निरन्तर आपूर्ति सबैभन्दा संवेदनशील विषय हो । यसका लागि १५ ओटा ‘जेट फ्यान’आवश्यक हुने कोइराला बताउँछन् । यसका साथै कुल दुई हजार छ सय ८८ मिटर दूरीमा २४सै घन्टा उज्यालो आवश्यक हुन्छ । 

बत्ती र अन्य संयन्त्रको सञ्चालनका लागि कुल दुई मेगावाट विद्युत् चाहिने भएकाले विद्युत् प्राधिकरणको मातातीर्थ स्टेशनबाट ११ केभिएको २४ घन्टे डेडिकेटेड लाइन ल्याउने व्यवस्था गरिएको उनले जानकारी दिए । साथै ‘जेनेरेटर’लाई पनि तयारी हालतमा राख्ने व्यवस्था गरिएको उनले बताए ।  

निरन्तर सञ्चार संयन्त्र तथा अग्निनियन्त्रक यन्त्र र सुरुङभित्र जडान भएका अन्य संयन्त्र (टनेल फ्यासिलिटी) सधैं तयारी हालतमा राख्नुपर्छ । आगलागी सुरुङमार्गको सर्वाधिक जोखिमको विषय भएका कारण त्यसका लागि सर्वाधिक संवेदनशील निरन्तर सतर्क हुनुपर्छ । 

आगलागीको अवस्थामा सुरुङभित्र जडित अग्नि समन यन्त्रको तत्काल प्रयोग गर्ने ‘कन्ट्रोल रुम’लाई तत्काल परिचालन गर्ने र आगलागीको अवस्थाको जानकारी सुरुङमार्गमा रहेका र पस्दै गरेका सवारीसाधनलाई माइक र एफएम रडियोमार्फत तत्काल सूचना दिन सकिनेछ । 

त्यसपछि ट्राफिक व्यवस्थापन र ‘डाइभर्सन’ तत्काल गराउने, सुरुङमार्गमा राखिने ‘भिजुअल बोर्ड’मा तत्काल आगलागी र सुरक्षासम्बन्धी सूचना ‘डिस्प्ले’ गराउने र सबै सञ्चारमाध्यमसमेत कन्ट्रोल रुममार्फत यसबारेको जानकारी प्रेषित पठाउने व्यवस्था गरिने उनले जानकारी दिए । 

सुरुङको सुरक्षाका लागि ‘सिसिटिभी क्यामेरा’ तथा सबै संयन्त्रको सञ्चालन गर्न कन्ट्रोल रुमसमेत सुरुङमार्गको पूर्वी ‘पोर्टल’ नजिक बन्दैछ । सामान्यतया सुरुङमार्गभित्र एफएम रेडियोको तरङ्ग पुग्न नसक्ने भएकाले त्यहाँबाट गुज्रने यातायातका साधनमा निर्वाध रेडियो सम्पर्क स्थापना होस् भन्नका लागि रेडियो ‘सिग्नल’ पु¥याउने सञ्जालसमेत त्यहाँ स्थापना गरिनेछ ।

जमिनकै बाधा 

देशले पहिलो पटक आधुनिक सुरुङमार्गको अनुभव लिँदै गर्दा अन्य आयोजनामा जस्तो मुआब्जा तथा जमिनसम्बन्धी विवादको अल्झोमा छ । झण्डै ३० वटा कित्तामा मुआब्जासम्बन्धी समस्याका कारण काम अघि बढिरहेका छैनन् । पूर्वी विन्दुमा पर्ने बलम्बुस्थित केही जग्गाका केही भाग राजकुलोमा पर्ने र घोषित मापदण्डका कारण सम्बद्ध जग्गाधनीले आंशिक मात्र मुआब्जा पाउने स्थिति छ । 

जग्गाधनीहरूले आफूलाई पूरैको मुआब्जा पाउनुपर्ने भन्दै त्यहाँको काम अघि बढ्न दिएका छैनन् । ‘व्यक्तिले भोगचलन गरिएको घरजग्गा भए पनि राजकुलो र त्यसको मापदण्डभित्र पर्ने जमिनको मुआब्जा दिन सम्बद्ध निकाय मानिरहेको छैन । जग्गाधनी भने पूरैको मुआब्जा मागिरहेका छन्,’ उनले भने ।  

यसैगरी पश्चिम विन्दुतर्फ धादिङको खत्री पौवास्थित विगत सडक कायम रहेका तर पछि नयाँ सडक बनेपछि सार्वजनिक प्रयोगमा नआएका जग्गामा स्थानीयले उपयोग गरिरहेका छन् । ती जग्गाको मुआब्जा दिनसमेत प्रचलित कानुन अनुसार मिलिरहेको छैन । 

‘त्यहाँ पनि मुआब्जा विवादका कारण यात्रुसेवा भवन, शौचालय तथा विश्रामस्थललगायतका काम अड्किएको छ,’ उनले भने । सोही स्थानका केही जग्गासम्बन्धी सरकारी अभिलेखमा ‘जग्गाधनी सडक विभाग र व्यक्ति’ दुवैको नाम भेटिँदा थप जटिलता सिर्जना भएको छ । यस्ता समस्याका कारण निर्धारित समयमा काम सक्न समस्या हुने र खर्चसमेत बढन जाने खतरा छ । काममा ढिलाइ हुँदा ठेकेदार र क्षतिपूर्ति दाबी गर्ने र त्यसबापत रकम दिनुपरे आयोजनाको खर्च बढ्न जाने अवस्था छ । 

आयोजनाका तर्फबाट सम्बद्ध मन्त्रालयलगायतका माथिल्ला निकायमा यससम्बन्धी जानकारी गराइसकिएको र मन्त्रालयस्तरबाट ती समस्या समाधानको पहल भइरहेको कोइरालाले जानकारी दिए । 

आयोजनाका निमित्त प्रमुख गोविन्द डुमरुका अनुसार आगामी मार्च ३ मा मुख्य सुरुङ छेड्ने (ब्रेक थ्रु)को लक्ष्य छ । अहिले जारी काममा गतिरोध नआए करीब एक वर्षपछि सुरुङमार्ग सञ्चालनमा आउने उनले जानकारी दिए ।

खानेपानी व्यवस्थापन 

सुरुङमार्ग निर्माणका क्रममा पानीका परम्परागत मुहान सुक्नेजस्ता केही समस्या देखिएकाले त्यसलाई समाधान गर्न आयोजना र चन्द्रागिरि नगरपालिकाबीच सहकार्य भइरहेको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिए । यसअन्तर्गत नगरपालिकाको वडा नं २ मा नयाँ ‘बोरिङ’ गरिने र सुरुङ बनेपछि चन्द्रागिरि नगरपालिकबाट सुरुङको पश्चिम पोर्टलतर्फ बगेको पानीलाई सङ्ग्रह गरी पम्पद्वारा चन्द्रागिरितर्फ वितरण गरिने सहमति भएको उनले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्