देशप्रति मुस्लिम समुदाय सधै बफादार : फारुकी



काठमाडौं,पुस २८ । नेकपा एमाले निकट नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सिराज फारुकीले मुस्लिम समूदाय देशप्रति सबैभन्दा बफादार हुने गरेको बताएका छन् । मुस्लिम समूदायले देशहितलाई पहिलो प्राथमिकतामा राख्ने गरेको उनको भनाई रहेको छ ।

उनले गठवन्धन रहेसम्म देशले विकासको गति नलिने बताएका छन् । आजबाट हेटौँडामा सुरु भएको नेपाल मुस्लिम इत्तेहाद संगठनको प्रथम बागमती प्रदेश अधिवेशनको उद्घाटन गर्दै एमाले केन्द्रीय सदस्य समेत रहेका फारुकीले गठवन्धनले देशका जनतालाई धोका दिईरहेको भन्दै आफ्नो अधिकार स्थापित गर्द मुस्लिम समूदाय एक हुनुपर्ने बताए । अहिले गठवन्धनले विकासको गतिलाई रोकेर भागवण्डामा देशलाई अराजकता तर्फ लगिरहेको भन्दै अध्यक्ष फारुकीले देश विकासको लागि एमालेको सरकार आवश्यक रहेको र त्यसको लागि मुस्लिम समूदायको भूमिका महत्वपूर्ण रहेको बताए ।

देशमा संविधान जारी भएको ८ वर्ष वितिसक्दा समेत मुस्लिम अधिकारको पक्षमा ऐन, कानुन निर्माण हुन नसक्नु दुःखद विषय भएको भन्दै उनले आफुहरुले सदन मार्फत मुस्लिम समूदायको अधिकार स्थापनाको लागि आवाज बुलन्द गरेको बताए ।

आजबाट सुरु भएको बागमती प्रदेश प्रथम अधिवेशनले बढिमा ३३ सदस्यीय कमिटि निर्माण गर्ने नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय उपमहासचिव एवम् संगठन विभाग प्रमुख जगुल मियाले बताए । अधिवेशनले एक अध्यक्ष, दुई उपाध्यक्ष, एक सचिव र एक उपसचिव सहितको कमिटि चयन गर्ने उनको भनाई रहेको छ । अधिवेशनमा बागमतीका १३ जिल्लाका करिब १ सय जना प्रतिनिधिहरु रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्